काठमाडौं । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । गभर्नर विश्व पौडेलले कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् ।
राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यका अनुसार यसअघि आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशक रहेका डा.गुणाकर भट्टलाई गभर्नर कार्यालयमा सरुवा गरिएको छ । गभर्नरका लागि रेसमा रहेका उनले दिएको राजीनामा अस्वीकृत गरी गभर्नर कार्यालयमा पठाइएको हो ।
त्यस्तै, अनुसन्धान विभागमा रिक्त कार्यकारी निर्देशकमा जनशक्ति व्यवस्थापन विभागका रामशरण खरेललाई ल्याइएको छ । खरेलको सरुवापछि रिक्त मानव संसाधन विभागमा विश्रुत थापालाई पठाइएको छ । उनी यसअघि बैङ्किङ विभागमा थिए ।
श्रेष्ठले अनिवार्य अवकाश पाएसँगै गभर्नर कार्यालय रिक्त भएको थियो । यो सरुवासँगै अब बैङ्किङ कार्यालय रिक्त छ । उनको अवकाशसँगै रिक्त स्थानका लागि वरिष्ठ निर्देशक कार्यकारी निर्देशकमा बढुवा गर्ने व्यवस्था छ । यो रोलमा डिल्लीराम पोखरेल अगाडि छन् । श्रेष्ठले अवकाश पाएसँगै सो ठाउँमा डा. भट्टलाई ल्याइएको हो। अब उनले गभर्नरको कार्यालयको नेतृत्व गर्नेछन्।
बिहीबार गभर्नर पौडेलले डेपुटी गभर्नरहरूको जिम्मेवारी बाँडफाँट गरेका थिए । अहिले कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको हो । अरू कार्यकारी निर्देशकको जिम्मेवारी भने यथावत् छ ।

