काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले तीनकुनेमा गत चैत १५ गते पूर्वराजाका समर्थकहरुले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा ६१ जनामाथि काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन गत बिहीबार बुझाएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले आइतबार ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको जानकारी दिए । कसुरका आधारमा उनीहरुलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतका फरकफरक र संयुक्त मुद्दा चलाइएको छ ।
उक्त प्रकरणमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपाका महामन्त्री धवलशमशेर जबरालगायत प्रतिवादी छन् । प्रसाईँसहित २० जनालाई जन्मकैद मागसहित अभियोगपत्र दर्ता गरिएको छ ।
चार जना बालबालिकाविरुद्ध बालअदालतमा मुद्दा चलाइने तयारी गरिएको छ ।

