काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएको छ । आज बसेको माओवादीको पदाधिकारी बैठकपश्चात उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले शक्ति प्रयोग गरेर छानबिन अवरुद्ध हुन सक्ने भएकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको जानकारी दिए ।
गृहमन्त्रीले छानबिन गरेर सहयोग गर्नुपर्ने निर्णय बैठकले गरेको उनले बताए । ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ,’ उनले भने ।
स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निष्कर्ष छ । ‘जुन छानबिन नै सुरु गरिसकेको छ नि राज्यका निकायले यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस्,’ सापकोटाले भने ।
गत बुधबार अध्यागमनका कर्मचारी सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका थिए । यसमा गृहमन्त्रीको सचिवालयको समेत संलग्नता रहेको खुलेको छ । गृहमन्त्रीको सचिवालयमा रहेका जनक भट्टदेखि गणेश ओझाको नाम मुछिएको छ । यस्तै, यसअघि नै भिजिट भिसाको आवरणमा मानवतस्करीमा जोडिएका अध्यागमन अधिकृत विमल पौडेल पनि लेखककै सचिवालयमा रहेका छन् ।

