दुग्ध उत्पादक किसानहरुले भुक्तानी पाएनन्

चितवन । किसानहरुले भूक्तानी मागेपछि केही दुग्ध उत्पादक डेरीहरुले दूध नउठाउने चेतावनी दिएका छन् । भुक्तानीका लागि दबाब दिएपछि यहाँका दुग्ध उत्पादक सहकारी संस्थाहरुले सो चेतावनी दिएका हुन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले भने, “अहिले भुक्तानी माग गरेका सहकारीहरुबाट दूध उठ्न कठिन भएको छ ।” यहाँ उत्पादित दूध सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी ) र निजी कम्पनीले लैजाने गरेका छन् ।
उनका अनुसार जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीहरुले विभिन्न डेरीहरुबाट ८० करोड रुपैयाँभन्दा बढीको भुक्तानी पाउन बाँकी रहेको छ । सो रकममध्ये डीडीसीको ३५ करोडबढी रहेको छ भने बाँकी अन्य रकम निजी डेरीहरुको हो ।

अध्यक्ष बगालेका अनुसार जिल्लाबाट ४० भन्दा बढी डेरीले दूध लैजाने गरेका छन् । ती डेरीहरुले भुक्तानी माग्दा दूध लैजान कम गर्ने गरेका हुन । उनले भने, “किसानले भुक्तानी माग्दा दूध उठाउन कम गर्छन् ।” कतिपय डेरीहरुले नियमित लैजाने दूधबाट कटौती गरेर थोरै लैजान थालेको उनले जानकारी दिए ।

गत पुस १ गतेदेखिको भुक्तानी लिन बाँकी रहेको छ । यस्तै अवस्था आए दुग्ध उत्पादक किसान आन्दोलनमा आउन बाध्य हुने उनले बताए । जिल्लाबाट दैनिक एक लाख ५१ हजार लिटर दूध बाहिर जाने गरेको संघले जनाएको छ । जसमध्ये ३५ हजार लिटर दूध डीडीसीले लाने गरेको छ । अहिले जिल्लामा दैनिक ३ लाख लिटर वढी दूध उत्पादन हुँदै आएको छ ।

किसानको भुक्तानी दिन ढिला गरेपछि संघले स्थानीय प्रशासनलाई भुक्तानीका लागि सहजीकरण गन आग्रह गरेका छन् । किसानको समस्या समाधानका स्थानीय प्रशासन समन्वय गर्न तयार रहेको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले बताए ।

भुक्तानी दिन ढिला गर्ने उद्योगलाई सम्पर्क गरी बोलएर छलफल गरिने उनले बताए । यस विषयमा गृह मन्त्रालय र कृषि मन्त्रालयसँग आफूले समन्वय गर्ने उनका भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार