संसद्मा आज आर्थिक सर्वेक्षण पेसलगायतका कार्यसूची, विपक्षीले अवरोध कायम राख्ने

काठमाडौं । बुधबार संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । आज बिहान ११ बजे बैठक बस्दैछ ।

मंगलबार तय भएको बैठक विपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नगरी सूचना टाँस गरी स्थगित गरिएको थियो । मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्‌मा आर्थिक सर्वेक्षण पेस गर्ने कार्यतालिका रहेकोमा विरोधका कारण पेस गर्न पाएनन् । आज पनि उक्त सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले आज पनि संसद अवरोध जारी राख्ने बताएका छन् ।

आज  युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने, सभामुखले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने, उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/०८२ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार