विदेशी मदिरामा सरकारको कडाइः १०० प्रतिशतसम्म भन्सार महसुल बढ्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विदेशी मदिरामा भन्सार महसुल दोब्बर पार्ने निर्णय गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकअनुसार अब विदेशबाट आयात हुने विभिन्न प्रकारका रक्सी तथा मदिरामा ८० देखि १०० प्रतिशतसम्म भन्सार महसुल लागु हुने भएको हो।

भारत तथा अन्य तेस्रो मुलुकबाट आयात हुने सबै प्रकारका मदिरामा सरकारले अब ८० प्रतिशत भन्सार महसुल लिनेछ। यसअघि भन्सार महसुल तुलनात्मक रुपमा कम रहेको र यसको दुरुपयोग भई सरकारको राजस्वमा ह्रास आएको भन्दै यो कदम चालिएको बताइएको छ।

तर, आयातित मदिरामा लाग्ने अन्तः शुल्क भने यथावत राखिएको छ।

आर्थिक विधेयकमा उल्लेख भएअनुसार उच्च अल्कोहल मात्राको तयारी मदिरा—जस्तै ब्राण्डी, ह्वीस्की, रम, जीन, भोड्का, लिकर्स तथा कर्डियलमा १०० प्रतिशत भन्सार महसुल लागु हुनेछ।

१५ युपी शक्तिको ४८.५ प्रतिशत अल्कोहल, २५ युपी शक्तिको ४२।८ प्रतिशत अल्कोहल, ३० युपी शक्तिको ३९.९४ प्रतिशत अल्कोहल भएका मदिरा उत्पादनहरूमा सिधा १०० प्रतिशत महसुल लाग्नेछ।

सरकारले अल्कोहलयुक्त जौंको बियर (५ प्रतिशतसम्म अल्कोहल) मा पनि ८० प्रतिशत भन्सार महसुल लगाउने व्यवस्था गरेको छ। त्यस्तै, इनर्जी ड्रिंक्स, हल्का पेय पदार्थ, र वास्नायुक्त दूधबाट बनेका पेय पदार्थमा ४० प्रतिशत भन्सार महसुल लागु गरिएको छ।

स्पार्कलिङ्ग वाइन, स्याम्पेन, साइडर, छ्याङ्ग (कन्ट्री वियर), सेरी, पेरी, मिड लगायतका फर्मेन्टेड पेय पदार्थहरूमा पनि ८० प्रतिशत महसुल लागु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार