!काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य समायोजन गरेको छ । शनिबार रातिबाट लागू हुने गरी निगम सञ्चालक समितिको निर्णय अनुसार डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर एक रुपैयाँले तथा पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको हो ।
यससँगै, डिजेल र मट्टितेलको खुद्रा मूल्य क्रमशः पहिलो, दोस्रो र तेस्रो वर्गमा प्रतिलिटर १४० रुपैयाँ ५० पैसा, १४२ रुपैयाँ र १४३ रुपैयाँ कायम गरिएको छ । पेट्रोलको मूल्य भने क्रमशः १५६ रुपैयाँ ५० पैसा, १५८ रुपैयाँ र १५९ रुपैयाँ निर्धारण गरिएको छ ।
निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । आन्तरिक उडानका लागि हवाई इन्धन प्रतिलिटर तीन रुपैयाँले घटाएर ११८ रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि हवाई इन्धनको मूल्य काठमाडौँमा प्रतिकिलोलिटर ९०१ अमेरिकी डलर, पोखरामा ७२१ डलर र भैरहवामा ७०६ डलर तोकिएको छ ।
निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनले पठाएको पछिल्लो मूल्य सूचीअनुसार डिजेल, मट्टितेल र पेट्रोलको खरिद मूल्यमा वृद्धि र हवाई इन्धनको खरिद मूल्यमा गिरावट आएपछि नेपाली बजारमा मूल्य समायोजन गरिएको हो ।

