काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र मनसुनी प्रणालीको संयुक्त प्रभाव देखिएको छ ।
पश्चिम तथा मध्य भूभागमा पश्चिमी र स्थानीय वायु सक्रिय छन् भने कोशी प्रदेशका धेरैजसो क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस प्रणालीको असरस्वरूप देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । विशेष गरी कोशी, कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने सम्भावना छ ।
यस्तै, देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस र अन्य पहाडी भेगमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने उच्च स्थानहरूमा हिमपातको सम्भावना रहेको छ ।

