राइड सेयरिङ सेवा महँगिँदा यात्रु मारमा, सार्वजनिक यातायात बन्दको फाइदा डिजिटल प्लेटफर्मलाई

काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२’ को विरोधमा यातायात व्यवसायीहरूले देशव्यापी चक्काजाम सुरु गरेपछि यात्रुहरू समस्यामा परेका छन्। सार्वजनिक सवारीसाधन ठप्प हुँदा नागरिकहरू राइड सेयरिङ सेवाको भर पर्न बाध्य भएका छन्।

कितिपुर टाङलाफाटबाट बानेश्वरको थापागाउँस्थित कार्यालय जाने वर्षा श्रेष्ठ आज बिहान राइड सेयरिङ एपमार्फत कार्यालय पुगेकी थिइन्। सामान्य दिनमा १५० रुपैयाँ लाग्ने दूरीका लागि आज उनले १७० रुपैयाँ तिर्नुपर्‍यो। सार्वजनिक यातायात बन्द हुँदा यात्रुहरूको चाप बढेपछि राइड सेयरिङ सेवाले भाडा बढाएका छन्।

सार्वजनिक सवारी सञ्चालन ठप्प भएपछि यात्रुहरूसँग विकल्प सीमित भएको छ। ट्याक्सीको तुलनामा तुलनात्मक रूपमा सस्तो पर्ने दुईपांग्रे राइड सेयरिङ सेवामा यात्रुको आकर्षण बढेको छ।

यातायात व्यवसायीहरूले सरकारलाई दबाब दिन चक्काजाम गरेका भए पनि यसको सिधा फाइदा राइड सेयरिङ सेवाहरूले उठाइरहेका छन्। यात्रुहरूको बाध्यता नै उनीहरूको आम्दानीको स्रोत बन्न पुगेको छ।

सार्वजनिक यातायात प्रयोग गर्दा भाडा सस्तो पर्छ, तर भीडभाड, असुरक्षा, ढिलाइ र साँझपख सवारी नपाउने समस्याले यात्रुहरू वैकल्पिक साधन खोज्न विवश छन्। यसै कारणले गर्दा राइड सेयरिङ, विशेषतः दुईपांग्रे सवारी, लोकप्रिय विकल्पको रूपमा स्थापित भइरहेको छ।

नियमावलीको विरोधमा चक्काजाम

गण्डकी प्रदेश सरकारले जेठ १ मा राजपत्रमा प्रकाशन गरेको नियमावलीमार्फत रातो नम्बर प्लेट भएका निजी सवारी साधनलाई राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवामा प्रयोग गर्न दिने व्यवस्था गरिएको छ। यसले यातायात व्यवसायीहरूको लगानी धरापमा पर्ने भन्दै व्यवसायीहरू आन्दोलित भएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायत आठ यातायात मजदुर सङ्गठनहरूले १७ बुँदे मागपत्रसहित सरकारलाई नियमावली खारेज गर्न चेतावनी दिएका छन्। उनीहरूले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ र १२ को उल्लङ्घन भएको दाबी गर्दै निजी सवारीले व्यावसायिक रूपमा यात्रु ओसार्न नमिल्ने बताउँदै आएका छन्।

नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले भने, ‘सरकारले रातो नम्बर प्लेटलाई यात्रु बोक्न दिएर हाम्रो १३ खर्ब लगानी धरासायी बनाउन खोजेको छ। हामी गैरनागरिक होइनौं, सरकारको दायित्व भनेकै हाम्रो लगानीको रक्षा गर्नु हो।’

राइड सेयरिङको उदय

राइड सेयरिङ नेपालमा नयाँ अवधारणाको रूपमा भारतको नाकाबन्दीपछिको इन्धन संकटका समयमा सुरु भएको थियो। शिक्षित भट्टले स्थापना गरेको ‘टुटल’ सेवा पहिलो पटक व्यवसायिक रूपमा सञ्चालनमा आएको र विस्तारै लोकप्रियता हासिल गरेको थियो। हाल भने टुटलको स्थान पठायो र इनड्राइभले लिएका छन्।

राइड सेयरिङ सेवाले कानुनी अस्पष्टता, ट्राफिक जरिवाना, राजनीतिक दवाबजस्ता समस्याहरूको सामना गर्दै आएको भए पनि यात्रुहरूको बढ्दो मागले यस व्यवसायलाई टिकाइराखेको छ।

सार्वजनिक सवारी बन्द हुँदा यात्रुहरू निजी डिजिटल सेवा प्रदायकहरूको भरमा रहेका छन्। तर बढ्दो भाडा र कानुनी अन्योलताले दीर्घकालीन समाधानको आवश्यकता औंल्याएको छ। सरकार, यातायात व्यवसायी र राइड सेयरिङ सेवाबीच समन्वय र स्पष्ट नीतिको खाँचो झन् बढी महसुस हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार