काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
अख्तियारले सोमबार विशेष अदालतमा सोडारी मुख्यमन्त्री र मन्त्री पदमा रहँदा २०७४ देखि २०७९ सम्मको अवधिमा १ करोड ८ लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अभियोगपत्र दायर गरेको हो ।
अख्तियारको अनुसन्धान अनुसार, सोडारीका वैध आम्दानीबाट जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र भएको देखिनेमा सो अवधिमा उनले जग्गा खरिद, घर निर्माण, सजावटलगायत शीर्षकमा कूल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेका देखिएको हो ।
स्रोत नखुलेको रकम १ करोड ८ लाख ३८ हजार रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको आरोप सोडारीमाथि अख्तियारले लगाएको छ । सोडारीले भ्रष्टाचार निवारण ऐन, २०५९ का दफा २० (१) र (२), दफा १६ (२), दफा २४, दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम कसुर गरेको उल्लेख गर्दै कारबाही माग गरिएको छ ।


