हेटौंडा । काठमाडौं जोड्ने छोटो दुरीको कान्ति लोकपथ चार दिन पूर्ण रूपमा बन्द हुने भएको छ । मकवानपुर र ललितपुरको सिमाना बगुवास्थित बागमती खोलामा बेलिब्रिज जडान गर्न उक्त सडक चार दिन बन्द गरिएको हो ।
मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती खोलामा बेली ब्रिज निर्माण गर्नुपर्ने भएकोले बुधबारदेखि अर्थात् जेठ २१ गतेदेखि जेठ २४ गतेसम्म अर्थात् चार दिनका लागि कान्ति लोकपथ बन्द रहने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । एक सूचना जारी गर्दै स्थानीय प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई सूचित गरेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ बगुवास्थित बागमती खोलाको पुलको गत असोज ११ र १२ गते बाढीले बगाएको थियो । पुलको दुवैतर्फ भाग बगाएको थियो । माटो र बालुवाको पुलको पहुँचमार्ग बनाएर कान्ति लोकपथ सञ्चालनमा ल्याइएको थियो । उक्त पहुँचमार्ग पनि पटक/पटक बाढीले बगाएर कान्ति लोकपथमा सवारी साधन आउजाउ समस्या हुँदै आएको थियो ।

