काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको ‘पूर्वाधारमा बजेट कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले बजेटको विश्वसनीयता कायम राख्दै वित्तीय अनुशासनलाई कडाइका साथ पालना गरिने बताए ।
अर्थमन्त्री पौडेलले विगतमा पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकेको स्वीकार गर्दै चालु आर्थिक वर्षमा यसमा सुधार ल्याउने दृढता व्यक्त गरे । उनले भने, ‘बजेटको आकार ठुलो भयो भन्ने आलोचना यसपटक खासै सुनिएन, यो सकारात्मक छ । तर हाम्रो मुख्य चुनौती पुँजीगत खर्च बढाउने र चालु खर्च नियन्त्रण गर्ने हो। यसमा हामी गम्भीर छौँ ।’
उनले साना ठूला सबै आयोजनाहरूमा स्रोतको सही सदुपयोग र जबाफदेहिता सुनिश्चित गरिने उल्लेख गरे। ‘तीन करोडसम्मका आयोजनामा देखिएका समस्या र सार्वजनिक खरिद ऐनका केही प्रावधानले पारेको अप्ठ्यारोबारे सरकार सचेत छ र आवश्यक सहजीकरणको लागि प्रयासरत छ,’ मन्त्री पौडेलले भने ।
अर्थमन्त्री पौडेलले निर्माण सामग्री, विशेष गरी बालुवा र गिट्टी जस्ता स्रोतहरूको सहज उपलब्धता नहुँदा पूर्वाधार आयोजनाहरूको प्रगतिमा बाधा पुगेको स्वीकार गरे । उनले भने, ‘निर्माण सामग्रीको अभावले समयमै काम सम्पन्न गर्न कठिनाइ भएको छ। यस विषयमा सम्बन्धित निकायहरूसँग समन्वय गरी समाधान खोजिनेछ।’
उनले सरकार बजेट कार्यान्वयन, वित्तीय अनुशासन र स्रोतको उच्चतम परिचालनमार्फत जनतामा आशा जगाउन र सरकारप्रतिको विश्वास अभिवृद्धि गर्न कटिबद्ध रहेको दोहोर्याए । अर्थमन्त्रीले पूर्वाधार विकासमा देखिएका चुनौतीहरूको सामना गर्दै नतिजामुखी काम गर्न आफू र आफ्नो मन्त्रालय दत्तचित्त भएर लाग्ने बताए ।

