काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको अवरोध खुलाउने बारेमा सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षबिना टुंगिएको छ ।
राजनीतिक दलहरूले आफ्ना अडान कायमै राखेकाले सभामुखले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको हो । सभामुखसँगको छलफल निष्कर्षविहीन भएपछि कांग्रेस, एमाले, माओवादी, रास्वपालगायतका दलहरू छुट्टै छलफल गरिरहेका छन् ।
सभामुख देवराज घिमिरेले आजको बैठक पहिलेभन्दा झन निराशाजनक रहेको बताएका छन् । उपसभामुख इन्दिरा राना, कानुनमन्त्री चौरसिया, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार सहभागी बैठक पहिलेभन्दा निराशाजनक रहेको बताइएको छ ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको र आफूहरू छलफलमा रहेको बताए ।
सभामुख र कानूनमन्त्रीसहितको छलफलमा कुरा नमिलेपछि सत्ता र प्रतिपक्ष दलहरू अहिले फेरि छलफलमा जुटेका छन् । केही दिनदेखि छलफल भएपनि उनीहरूबीच कुनै सहमति बन्न सकिरहेको छैन ।
सभामुखले बोलाएको बैठक कुनै टुंगोमा नपुगेपछि कांग्रेसका महामन्त्री गगन थापा, प्रमुख सचेतक श्यामकुमार घिमिरे, गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला, माओवादी उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका कार्यवाहक दल नेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियार लगायत छलफलमा जुटेका छन् ।
भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गर्दै आएका छन् । सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरेका विपक्षी दलहरू पछिल्लो समय न्यायिक वा संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।

