म्याग्दी । यहाँको बेनी सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने तालिम सञ्चालन गरेको छ ।
बेनी नगरपालिकाको “हामी सक्छौँ, हामी गछौँ” कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सीप सिकाइएको हो । कक्षा ८, ९ र ११ मा पढ्ने २५ जना विद्यार्थीलाई उनीहरुको रुचीअनुसार १५ दिने कपाल काट्ने तालिम सञ्चालन गरेको विद्यालयका प्रधानअध्यापक दिपक श्रेष्ठले बताए ।
“विद्यार्थीहरुको माग र रुचीअनुसार कपाल काट्ने तालिम छनोट गरिएको हो,” उनले भने , “यही जेठ २६ गतेदेखि सुरु भएको तालिम असार १० गतेसम्म सञ्चालन गर्छौँ ।” विद्यार्थीलाई बेनीका अभिशेक श्रेष्ठले कपाल काट्ने तालिम दिइरहेका छन् ।
दिउँसो ४ बजे विद्यालयको नियमित कक्षाको पठनपाठन सकिएपछि दुई घण्टाका दरले तालिम सञ्चालन गरिएको छ । तालिममा सहभागी कक्षा ११ का छात्र सुयोग रेग्मीले घरपरिवारका सदस्यको कपाल काटेपनि खर्च बचत हुने र भविष्यमा व्यवसाय सञ्चालनका लागि सिकेको सीपले सहज हुने बताए ।
प्रअ श्रेष्ठका अनुसार बेनीमा सार्वजनिक बिदाका दिनमा सैलुनमा कपाल काट्न घण्टौसम्म कुरेर पालो पर्खनुपर्छ । विद्यार्थीले सिकेको सीपको सदुपयोग गरेर सामुहिक व्यवसाय सञ्चालन गर्न चाहेमा विद्यालयले सटर उपलब्ध गराउने प्रअ श्रेष्ठले बताए ।
“गत वर्ष प्लम्बिङ र अघिल्लो वर्ष कपाल काट्ने तालिम दिइएको थियो,” उनले भने “विद्यालयले प्लम्बिङ, हेयर कटिङ र वायरिङसम्बन्धी सेवा दिन आफ्नै भवनको सटरमा पसल खोल्ने योजना छ ।”
माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाएर विद्यार्थी र शिक्षालाई श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिए ।
बेनी नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा हामी सक्छौँ, हामी गर्छौँ कार्यक्रमका लागि रु एक÷एक लाखका दरले रु १६ लाख बजेट विनियोजन गरेको छ ।
बिहान बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब ५०० जना विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ ।

