दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको आज बैठक बस्ने कार्यक्रम तय भएको छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक १:१५ बजेपछि सुरु हुने कार्यतालिका छ।

प्रतिनिधिसभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको वार्षिक राजस्व र खर्च अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्तावसहित आफ्नो मन्तव्य प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ संसद्मा पेश गर्ने कार्यक्रम पनि आजको बैठकमा समावेश गरिएको छ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूबारे बैठकलाई जानकारी गराउने कार्यसूची पनि तय गरिएको छ।

यता, पछिल्लो केही बैठकहरू प्रमुख प्रतिपक्षी दललगायतका सांसदहरूले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै सदन अबरुद्ध गर्दै आएका कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन।

राष्ट्रियसभा बैठकतर्फ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम रहेको छ।

साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ राष्ट्रियसभामा पेस गर्ने कार्यसूची पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार