इजरायलद्वारा इरानमा आक्रमण सुरु, तेहरानमा विस्फोटको श्रृंखला

काठमाडौं । इजरायलले इरानमाथि आक्रमण सुरु गरेको छ। इजरायलका रक्षा मन्त्री इजरायल काट्जले आक्रमणपछि देशभर संकटकाल घोषणा गरिएको जनाउँदै, इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमणको तत्काल खतरा रहेको बताएका छन्।

इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएका अनुसार राजधानी तेहरानसहितका विभिन्न क्षेत्रमा शुक्रबार बिहान लगातार विस्फोटको आवाज सुनिएको छ। इजरायलको प्रारम्भिक आक्रमण इरानको आणविक कार्यक्रम, मिसाइल निर्माण केन्द्र र सैन्य पूर्वाधारहरूमा लक्षित गरिएको बताइएको छ।

इजरायली सेनाले यस आक्रमणलाई ‘सटीक र समन्वित’ भन्दै दर्जनौँ लक्ष्यहरू ध्वस्त पारेको दाबी गरेको छ। सिएनएनलाई दिएको जानकारी अनुसार, इजरायलले यो कारबाहीलाई एकदिने हमला नभई दीर्घकालीन सैन्य रणनीतिको सुरुआतका रूपमा लिएको जनाएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहू नेतृत्वको सरकारले यसलाई ‘उचित समयको उपयोग’ भन्दै प्रारम्भ गरेको उल्लेख गरिएको छ।

यसैबीच, इरानले तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द गरेको छ। राजधानीमा हालसम्म ६ देखि ९ वटा विस्फोट भएको पुष्टि भएको छ। केही विस्फोटहरू विमानस्थल नजिकै र केही आवासीय क्षेत्रमा समेत भएको रिपोर्ट गरिएको छ।

इजरायली सरकारले देशको आपतकालीन सुरक्षा संयन्त्र सक्रिय गरेको छ। विद्यालयहरू बन्द गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

अर्कोतर्फ, अमेरिकी विदेश मन्त्रालयले इजरायली आक्रमणमा अमेरिका कुनै पनि रूपमा संलग्न नरहेको स्पष्ट पार्दै इरानलाई अमेरिकी हितविरुद्ध जवाफी कारबाही नगर्न चेतावनी दिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘यो पूर्णतः इजरायलको निर्णय हो’ भन्दै अमेरिका यसप्रति कूटनीतिक रूपमा मात्र निगरानी गरिरहेको बताएका छन्।

विश्लेषकहरूले यो आक्रमणसँगै मध्यपूर्वमा थप तनाव चुलिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। इरानको सम्भावित जवाफी आक्रमण र त्यसले विश्व राजनीतिमा पार्नसक्ने असरबारे अन्तर्राष्ट्रिय समुदाय सतर्क बनेको छ। संयुक्त राष्ट्र, युरोपेली संघ र अन्य शक्तिराष्ट्रहरूले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार