त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, खराब मौसमले सबै उडान प्रभावित

काठमाडौं । लगातारको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी ठप्प हुँदा शुक्रबार बिहानदेखि सबै उडान रद्ध भएका छन्। बिहान करिब ११ः३० बजेदेखि परेको भीषण वर्षासँगै भिजिबिलिटी एकदमै न्यून भएपछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए।

उनका अनुसार, खराब मौसमका कारण अन्तर्राष्ट्रिय तथा आन्तरिक दुबै उडान प्रभावित भएका छन्। अवतरण गर्न नसक्ने भएपछि केही जहाजहरू आकासमै फन्को लगाइरहेका छन् भने केहीलाई अन्य विमानस्थलतर्फ डाइभर्ट गरिएको छ।

खराब मौसमकै कारण काठमाडौंबाट विराटनगर जाँदै गरेको बुद्ध एयरको एक जहाज सिमरा विमानस्थल डाइभर्ट गरिएको छ। यता, विराटनगरबाट काठमाडौं आउँदै गरेको यती एयरलाइन्सको जहाज भने आकासमै होल्ड गरेर अवतरणको पर्खाइमा रहेको छ।

विमानस्थल प्रशासनका अनुसार, पानी रोकिएर मौसम खुलेपछि आकासमा होल्ड रहेका जहाजले अवतरण गर्नेछन् भने डाइभर्ट भएका जहाजहरू पनि काठमाडौं फर्काइने छन्। हाल आकासमा आधा घण्टाभन्दा बढी समयदेखि फन्को लगाउँदै उडिरहेका जहाजहरूलाई प्राथमिकताका साथ अवतरण गराइने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार