CLI

दरमखोला हाइड्रो इनर्जीको आइपीओ असार ९ मा निष्काशन हुने

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आगामी असार ९ गतेदेखि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले १ अर्ब ३ करोड ५ लाख रुपैयाँ जारी पूँजीमध्ये ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजनास्थल आसपासका स्थानीयका लागि छुट्याइएको हो। गुल्मीको मुसिकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका र बडीगाड गाउँपालिकाका बासिन्दाले यो सेयरमा आवेदन दिन सक्नेछन्।

त्यस्तै, २९ लाख १९ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। यसका अतिरिक्त कम्पनीले ५८ हजार ३९० कित्ता आफ्ना कर्मचारी र १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित राखेको छ।

न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ। स्थानीयबासीका लागि आवेदन बन्दको मिति छिटोमा असार २३ र ढिलोमा साउन ६ गते तोकिएको छ भने वैदेशिक रोजगारीमा रहेकाले असार २३ गतेभित्र आवेदन दिनुपर्नेछ।

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले “आइआरएन डबल बी माइनस” रेटिङ दिएको छ, जसले औसत जोखिम रहेको जनाउँछ। दरमखोला हाइड्रोले निर्माण गरिरहेको ९.६ मेगावाटको जलविद्युत आयोजना लागत २ अर्ब ३८ करोड पुगेको छ, र परियोजनाको विद्युत अनुमतिपत्रमा अझै २८ वर्ष बाँकी रहेको जनाइएको छ।

सेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानीयले ग्लोबल आइएमई बैंक वामी शाखा, लक्ष्मी सनराइज बैंक गल्कोट शाखा, प्रभु बैंक गल्कोट शाखा तथा दरम खोला पावरहाउसबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने छन्।

Leave Your Comment

Related News