काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार घटेको छ । बुधबार देखि निरन्तर घटेको शेयर बजार सोमबार बढेको थियो भने मंगलबार पुनः घटेको हो ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२८ र फोल्ट इन्डेक्स ०.२० अंकले घटेको हो ।
मंगलबार ३०६ वटा कम्पनीको १ करोड ६४ लाख ७७५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार पुगेको छ । जुन सोमबारको तुलनामा कारोबार रकम ५ अर्ब ५३ करोड ३६ लाख ९६ हजारले कम हो । सोमबार ३१८ वटा कम्पनीको ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार पुगेको थियो ।
यसैबीच मंगलबार बजार पुँजीकरण रकम भने ४४ खर्ब २२ अर्ब ९६ करोड पुगेको छ ।
यसदिन ९९ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १४८ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ३ वटा उपसमूह बढ्दा बाँकी १० वटा उपसमूह घटेको छ । जलविद्युत १०, लघुवित्त ५२ र व्यापार ५ अंकले बढ्दा वाणिज्य बैंक ६, विकास बैंक ११, वित्त १२, होटल र पर्यटन ११४, लगानी ०.४८, उत्पादन र प्रशोधन १०, म्युअुचल फण्ड ०.०६, निर्जीवन बीमा ३१ र अन्य समूह ४ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा सानिमा माई हाइड्रोपावर , बुटवल पावर कम्पनी ,ङादी ग्रुप कम्पनी , राधी विद्युत कम्पनी र सोल्टी होटल रह्यो । सानिमा माई हाइड्रोपावरको ७४ करोड ९६ लाख , बुटवल पावर कम्पनीको ६० करोड ३८ लाख ,ङादी ग्रुप कम्पनीको ४६ करोड ११ लाख , राधी विद्युत कम्पनीको ३८ करोड १८ लाख र सोल्टी होटलको ३० करोड २९ लाख बराबर कारोबार भयो ।

