यातायात कार्यालयका अधिकृतले गैरकानूनी रुपमा कमाए २ करोड ५१ लाख, भ्रष्टचार मुद्धा दायर

काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका एक अधिकृतमाथि २ करोड ५१ लाखभन्दा धेरै रकम गैरकानूनी सम्पत्ति आर्जनको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ५१ लाख ७८ हजार ६८७ रूपैयाँ ७१ पैसा गैरकानूनी रूपमा आर्जन गरेको भन्दै अधिकृत (आठौं तह) कमल राज गौतमविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गौतमले सार्वजनिक पद धारण गरेपछि पदको दुरुपयोग गरी वैधानिक आम्दानी स्रोतभन्दा बढी सम्पत्ति आर्जन गरेको पुष्टि भएको जनाएको छ ।

अख्तियारका अनुसार, २०५५ साल वैशाख ७ गतेदेखि २०७९ साल चैत २४ गतेसम्मको अवधिमा उनले वैधानिक रूपमा २ करोड ८९ लाख २० हजार २६८ रूपैयाँ १८ पैसा मात्र आम्दानी गरेका थिए।

तर, सोही अवधिमा गौतम र उनका परिवारका नाममा भएको सम्पत्ति खर्च तथा लगानीको कूल रकम ५ करोड ४० लाख ९८ हजार ९५५ रूपैयाँ ८९ पैसा रहेको देखिएको छ ।

यसरी आम्दानी र व्ययबीचको अन्तर २ करोड ५१ लाख ७८ हजार ६८७ रूपैयाँ ७१ पैसा पुगेको हुँदा उनीमाथि स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गरिएको आयोगले जनाएको छ ।

सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार अख्तियारले गौतमलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफाबमोजिम कैद र जरिवानासहित गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार