काठमाडौं । जेठ अन्तिम साता सुधारोन्मुख देखिएको शेयर बजार पछिल्लो समय भने खस्कदो अवस्थामा रहेको छ । फलस्वरुप असार पहिलो साता शेयर बजार नकारात्मक रहन गएको छ , जसले गर्दा लगानीकर्ताले आफनो लगानी गुमाउनु परेको छ ।
यो साता पाँच कारोबार दिन मध्ये एक दिन सोमबार मात्र शेयर बजार बढ्दा लगानीकर्ताले आफनो लगानी गुमाउनु परेको हो । यो साता कारोबारको चार दिन शेयर बजार घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम करिब सवा ४३ अर्बले कमी आएको छ । गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम ४३ अर्ब १३ करोड ३४ लाखले कमी आएको हो ।
गत साता ४४ खर्ब २३ अर्ब ३ करोड रहेको बजार पुँजीकरण रकम यो साता ४३ खर्ब ९९ अर्ब ३ करोडमा सीमित हुन पुग्दा लगानीकर्ताले लगानी गुमाउन पुगेका हुन् ।
त्यस्तै नेप्सका अनुसार गत साताको तुलनामा यो साता कारोबार रकम भने २ अर्ब १९ करोडले बढेको छ । गत साता ५० अर्ब ४१ करोड रुपैयाँ कारोबार रकम पुग्दा यो साता ५२ अर्ब ६० करोड रुपैयाँ पुगेको हो ।
साथै कारोबार कित्ता शेयरको संख्या समेत बढेको छ । गत साताको तुलनामा यो साता कारोबार शेयर कित्ता १ करोड ६४ लाखले बढेको छ । गत साता ११ करोड १८ लाख ७४ हजार कित्ता शेयर खरिद बिक्री हुँदा यो साता १२ करोड ८२ लाख ९४ हजार कित्ता शेयर खरीद बिक्री भएको हो ।
नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २६०० वरपर रहेको छ । यो साता नेप्से परिसूचक २६२८.९१ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा यो साता नेप्से परिसूचक २६.४७ अंकले कम हो । गत साता नेप्से परिसूचक २६५५.३८ विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स पनि ४४९.४८ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा ४.६१ अंकले कम हो । गत साता सेन्सेटिभ इन्डेक्स ४५४.०९ विन्दुमा पुगेर बन्द भएको थियो ।

नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचकको हकमा भने २ वटा उप समुह बढ्दा बाँकी ११ वटा उपसमुह घटेको छ । गत साताको तुलनामा यो साता सबैभन्दा उच्च अंकले होटल र पर्यटन समूह बढ्दा सबैभन्दा कम अंकले घट्नेमा म्युअुचल फण्ड रहेको छ ।
गत साताको तुलनामा यो साता होटल र पर्यटन ५७ र उत्पादन र प्रशोधन ४६ अंकले बढ्दा बैंकिङ १४, विकास बैंक ९७, वित्त ९०, जलविद्युत १५, लगानी २.३४,जीवन बीमा १५०, लघुवित्त ११, म्युअुचल फण्ड ०.०७, निर्जीवन बीमा २०७९, व्यापार ५७ र अन्य समूह ४३ अंकले घटेको हो ।


