काठमाडौं । पूँजी बजारसँग सम्बद्ध लगानीकर्ता संघहरुले राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेललाई भेट गरेका छन । शेयर लगानीकर्ता संघ नेपाल, पूँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजी बजार लगानीकर्ता संघका पदाधिकारीहरुले गभर्नर पौडेललाई भेट गरेका हुन ।
गभर्नरसँगको भेटमा लगानीकर्ताहरुले पूँजी बजार सुधार र विकासका लागि नेपाल राष्ट्र बैंकले केही नीतिगत बाधाहरु फुकाउनु पर्ने विषयमा जोड दिएका छन् । शेयर बजारमा लाग्दै आएको व्यक्तिगत तर्फको शेयर धितो कर्जाको १५ करोड सिमा हटाउने र लघुवित्त संस्थाको लाभांश वितरणमा लगाईएको सिमा हटाउनु पर्ने माग राखेका छन् । लाभांश वितरणमा लगाइएको सिमाले नेपालले अंगिकार गरेको खुल्ला अर्थनीति सिद्धान्त विपरीत नीति भएको उल्लेख गरेका छन् ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्राथमिक पूँजीकोषको पूँजीबजारमा लगानी गर्ने सीमालाई परिमार्जन गरी बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा व्यवस्था भए वमोजिमको सिमा कायम राख्नुपर्नेमा जोड दिएका छन । गैर आवासीय नेपाली (एनआरएन) ले नेपालको पूँजीबजारमा लगानी गर्नको लागि कानुनी अड्चन हटाउँदै लगानीको वातावरण सिर्जना गर्नुपर्ने समेत माग राखेका हुन ।

