बंगलादेशको पर्यटकलाई पर्यटन बोर्डको आग्रह: नेपाल भ्रमण गरी जीवनभरका सम्झनासहित फर्किनुस्

काठमाडौं । नेपाल पर्यटन बोर्डले बंगलादेशका पर्यटकका लागि नेपाल भ्रमण गरी जीवनभरको सम्झनासहित फर्किन आग्रह गरेको छ ।

नेपाल पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली राजदूतावासको सहकार्यमा राजधानी ढाकामा आयोजना गरिएको नेपाल-बङ्गलादेश पर्यटन भेटघाट” कार्यक्रममा बोर्डका निमित्त निर्देशक रोहिणी प्रसाद खनालले बङ्गलादेशी जनसमुदायलाई नेपाल भ्रमण गरेर नेपाल महसुस गर्न, जोडिन, र जीवनभरका सम्झनासहित फर्किन आग्रह गरेका हुन् ।

निमित्त निर्देशक खनालले नेपालका विविध पर्यटकीय उत्पादन र गतिविधिहरूको समग्र प्रस्तुतिकरण गरेका थिए । उनले ट्रेकिङ, पर्वतारोहण, प्याराग्लाइडिङ, बन्जी जम्पिङ जस्ता साहसिक गतिविधिदेखि अध्यात्मिक विश्राम, वेलनेस टुरिज्म तथा मेडिकल टुरिज्म जस्ता नयाँ सम्भावनाहरूबारे विस्तृत जानकारी गराएका हुन् ।

“छिमेकी नेपाल: जीवनभरका अनुभवहरूको भूमि” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बङ्गलादेशी पर्यटकहरूका लागि नेपाल एक आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गरेका हुन् ।

नेपालले प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटन अवसरहरू र आतिथ्य संस्कृतिको अद्भुत संयोजन प्रदान गर्ने बताउँदै राजदूत भण्डारीले पर्यटन र जनस्तरको सम्बन्धलाई दुई देशबीचको मित्रताको उत्कृष्ट प्रतिबिम्बको रूपमा उल्लेख गरे । साथै, उनले दुई देशका पर्यटन व्यवसायीहरूबीच बीटुबी सम्बन्ध अझ प्रगाढ बनाउन आह्वान गरेका हुन् । बङ्गलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका संयुक्‍त सचिव एकेएम मोनिरुज्जामानले दुई देशबीचको पर्यटन सहकार्यलाई अझ सुदृढ बनाउन संयुक्त पर्यटन प्याकेज विकासको आवश्यकता औंल्याएका हुन् । नेपाल र बङ्गलादेशलाई परस्पर परिपूरक गन्तव्यको रूपमा प्रस्तुत गर्न सकिने सम्भावनाबारे समेत उनले जोड दिए ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै राजदूतावासकी उपप्रमुख ललिता सिलवालले नेपाल र बङ्गलादेशबीचको पर्यटन सहकार्यलाई थप बलियो बनाउने नेपालको प्रतिबद्धता यस्ता कार्यक्रमले पूरा गर्ने विश्‍वास व्यक्त गरेकी छन् । कार्यक्रममा बङ्गलादेशी आरोही इक्मारुल हसन शाकिलले हालै १३७२ किलोमिटरको “सी टु समिट” यात्रा सम्पन्न गरी २०२५ मे १९ मा सगरमाथा आरोहण गरेको प्रेरणादायी अनुभव सुनाएकी हुन् ।

बङ्गलादेश ट्राभल एजेन्ट संघका अध्यक्ष अब्दुस सलाम अरेफ तथा एशियन टुरिज्म फेयरका अध्यक्ष मोहिउद्दिन हेलालले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाली लोकसाँस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । साथै, सहभागी पर्यटन व्यवसायीहरूको सहयोगमा राफल ड्र पनि गरिएको थियो, जसअन्तर्गत हिमालय एयरलाइन्स र बिमान बङ्गलादेश एयरलाइन्सको प्रायोजनमा ढाका–काठमाडौं राउन्ड ट्रिप हवाई टिकट र नेपाली ट्राभल एजेन्सीहरूद्वारा प्रायोजित विशेष छुट प्याकेजहरू प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार