नागढुंगा सुरुङ मार्गमा सवारीको अधिकतम गति ६० किमी प्रति घण्टा

काठमाडौं । निर्माणधीन नागढुंगा–सिस्नेखोला सुरुङ मार्गमा सवारी साधन ६० किलोमटिर भन्दा अधिकतम गतिमा गुड्न नपाउने भएका छन् । यातायात व्यवस्था विभागले जारी गरेको नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ ले उक्त खण्डमा सञ्चालन हुने सवारी साधनको अधिकतम वेग (स्पिड) ६० किलोमिटर प्रति घण्टा तोकेको छ ।

विभागले आवश्यकता अनुसार अधिकतम स्पिड ६० किलोमिटर प्रति घण्टाभन्दा कम हुने गरी तोक्न सक्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग मुलुकको पहिलो सुरुङ मार्गको रुपमा रहेको छ । यस अघि नेपालमा सडक यातायातका लागि सुरुङ मार्ग निर्माण भएको थिएन । लक्ष्य अनुसार निर्माण सम्पन्न भएमा नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग नै नेपालको सवारी गुड्ने पहिलो सुरुङ मार्ग हुनेछ । सुरुङ मार्गमा यातायात सेवा सञ्चालन, सुरक्षित यातायात सेवा र व्यवस्थित गर्न नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका जारी गरिएको विभागका सूचना अधिकारी गणेशमान सिंह राईले बताए ।

सुरुङ मार्ग भएर पैदलयात्री, दुई पांग्रे सवारी साधन, तीन पांग्रे सवारी साधन, मोटर नभएको सवारी साधन प्रवेश गर्न पाउँदैनन् । यस्तै जोखिमयुक्त मालसामान बोकेका सवारी साधन (डिजेल, पेट्रोल, ग्याँसजस्ता अत्याधिक प्रज्वलनशील पदार्थ, विस्फोटक पदार्थ बोकका सवारी), नेपाल रोड स्ट्यान्डर्ड (एनआरएस) २०७० ले तोकको लम्बाई १८ मिटर वा चौडाई २.५ मिटर वा उचई ४.७५ मिटर भन्दा अधिक नाप भएका सवारी साधन र विभागबाट जारी भएको ‘मालबाहक सवारीको भारवहन नियमन निर्देशिका, २०७४’ र सडक विभाग तथा विभागबाट जारी हुने भारवहन सम्बन्धी निर्देशिकाले तोकेको क्षमताभन्दा बढी भार बोकेका सवारी साधनहरु सुरुङ मार्ग भएर यात्रा गर्न निषेध गरिएको छ ।

यस्तै नियमनकारी निकायले अत्याधिक प्रज्वलनशील पदार्थहरु (मट्टीतेल, डिजेल, पेट्रोल, ग्यास आदि), जुनसुकै किसिमका विस्फोटक पदार्थ, सुरक्षा निकाय बाहेकका हातहतियार बोकेका जुनसुकै सवारी साधनलाई सुरुङ मार्ग प्रवेशमा रोक लगाउनु पर्नेछ । यस्तै दुर्गन्धित, गन्हाउने तथा कुहिएका मालसमान, प्रचलित कानूनबमोजिम निषेध गरिएका अन्य मालसामान बोकेका सवारी साधनलाई नियमनकारी निकायले सुरुङ मार्ग भित्र गुड्न दिनु हुँदैन । तर सरकारले निर्णय गरेमा जुनसुकै सवारी साधनलाई सुरुङ मार्गबाट प्रवेश गर्न दिन सकिने निर्देशनमा लेखिएको छ ।

जाइकाको सहुलियतपूर्ण ऋण विस २०७६ देखि निर्माण सुरु गरिएको नागढुंगा–सुरुङ निर्माण सम्पन्न गर्ने म्याद असोजसम्म रहेको छ । पुसदेखि सवारी साधन सञ्चालनमा ल्याउन सकिने योजनाका साथ सडक विभाग अघि बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार