काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि (असार ९ गते) आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले पहिलो चरणमा लक्षित समूहलाई आईपीओ निष्कासन गर्दै दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त यस आईपीओ अन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्दैछ।
आयोजना प्रभावित क्षेत्र अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका र बडिगाढ गाउँपालिकाका बासिन्दाहरूले कुल १० लाख ३० हजार ५०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
त्यस्तै, वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिई रहेका नेपालीहरूका लागि कुल २ लाख ९१ हजार १५० कित्ता शेयर छुट्याइएको छ, जुन सर्वसाधारणलाई निष्कासन गरिने २९ लाख १९ हजार ५०० कित्ताको १० प्रतिशत हो।
दुवै समूहका आवेदकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद असार २३ गतेसम्म निर्धारण गरिएको छ। यद्यपि, आयोजना प्रभावित समूहबाट आवश्यक संख्यामा आवेदन नपरेमा निष्कासन अवधि साउन ६ गतेसम्म लम्बिन सक्नेछ।
आयोजना प्रभावितहरूले आवेदन ग्लोबल आइएमई बैंक वामी शाखा, लक्ष्मी सनराइज बैंक गल्कोट शाखा र प्रभु बैंक गल्कोट शाखाबाट दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारीमा लक्ष्मी सनराइज क्यापिटल छ।

