काठमाडौं । बजाज अटोले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतक २९०३ को अपडेटेड भर्सन चेतक ३००१ सार्वजनिक गरेको छ। चेतक ३५ सिरिज प्लेटफर्ममा निर्माण गरिएको चेतक ३००१ को मूल्य ९९ हजार ९९० भारु तोकिएको छ ।
नयाँ मोडलमा ३.० किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ ।जसले एकपटकको पूर्ण चार्जमा १२७ किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ ।स्कुटरलाई शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न ३ घण्टा ५० मिनेट लाग्ने कम्पनीले जानकारी दिएको छ।
उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै बजाजले यो स्कुटर बढी रेन्ज चाहने ग्राहकलाई लक्षित गर्दै ल्याएको जनाएको छ। यसमा नयाँ फ्लोरबोर्ड ब्याट्री प्रविधि प्रयोग गरिएको छ । जसले स्कुटरलाई फराकिलो बनाउनुका साथै स्टेबिलिटीमा समेत सुधार ल्याएको छ। केन्द्र गुरुत्वाकर्षण ९सेंटर अफ ग्राभिटी० कम भएकाले सन्तुलन पनि उत्कृष्ट हुने कम्पनीको दाबी छ।
स्कुटरमा ३५ लिटरको बुट स्पेस रहेको छ भने ७५० वाट क्षमताको चार्जरमार्फत फास्ट चार्ज गर्न सकिने सुविधा पनि रहेको छ। साथै, स्कुटरमा ‘कल एक्सेप्ट र रिक्वेस्ट, ‘म्युजिक कन्ट्रोल, गाइड मी होम लाइट्स, हिल होल्ड असिस्ट, रिभर्स लाइट,‘अटो फ्ल्यासिङ स्टप ल्याम्प्स लगायत अत्याधुनिक फिचरहरू पनि समावेश गरिएको छ।
स्टिल बडी भएको यो स्कुटर अहिलेको वर्गमा एक मात्र मोडल हो। बजाजका अनुसार चालु आर्थिक वर्षको जनवरीदेखि मार्चसम्म चेतक भारतको सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक स्कुटर बनेको हो।
चेतक ३००१ सहितको ३५ सिरिजअन्तर्गत ‘चेतक ३५०१’ र ‘चेतक ३५०२’ जस्ता अन्य मोडल पनि बजारमा उपलब्ध छन्। कम्पनीले राम्रो प्रदर्शन र रेन्ज चाहने राइडरका लागि नयाँ मोडल ल्याएको बताएको छ।
नेपाली बजारमा समेत बजाज चेतक स्कुटर भित्र्याउने तयारी भइरहेको छ ।

