काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट ८ सय ८५ जनाले नेपाल फर्किन चाहेको भन्दै नाम टिपाएको बताएकी छिन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई नाम दर्ता गराउन गरिएको आग्रहमा उक्त संख्या रहेको बताइन् । उनले अनलाइन पोर्टलमार्फत विवरण लिने कामग भइरहेको संसदलाई जानकारी गराईन् ।
इजरायल–इरानबीच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
‘जुन १७ बाट अनलाइन पोर्टल खोलेर नेपाली नागरिकहरुको विवरण लिन सुरु गरेका छौँ । र उक्त पोर्टलमा हालसम्म ८ सय ८५ जनाले दर्ता गर्नुभएको छ,’ मन्त्री राणाले भनिन्, ‘अबको एक/दुई दिनमा श्रम संसार भन्ने मोबाइल एप नागरिक एपसँग मिलाएर रिलिज पनि गर्न गइरहेका छौँ । त्यसपछि विश्वभरी रहेका जतिपनि नेपाली नागरिकहरू हुनुहुन्छ ।’
उनले सरकारले युद्ध सुरु भएदेखि नै एड्भाइजरी मार्फत इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको बताइन् ।
त्यस्तै मन्त्री राणाले बैठकमा हमास समूहले बन्दी बनाएर राखेको भनिएका नेपाली नागरिक विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको बताइन् ।
‘विपिन जोशीको रिहाइका लागि हामीले सक्दो प्रयास गरेका छौँ । सम्माननीय प्रधानमन्त्री स्वयंले इजिप्टका राष्ट्रपतिलाई फोनमार्फत अपिल गर्नुभएको छ । सभामुख देवराज घिमिरेले अरब संसद्का अध्यक्षलाई सम्बोधन गर्दै पत्र लेख्नुभएको छ’, उनले भनिन्, ‘म स्वयंले कतार संयुक्त अरब इमिरेट्सका परराष्ट्र राज्यमन्त्रीहरू, एजिप्ट टर्की र इरानका परराष्ट्रमन्त्रीहरू पत्र लेखी अनुरोध गरेँ ।
ओमानमा आयोजित इन्डियन ओसियन कन्फ्रेन्समा कतार र संयुक्त अरब इमिरेट्सका राज्यमन्त्री र इरानका समकक्षीसँग भेट गरेर अनुरोध गरेको गरेको पनि उनले बताइन् ।
उनले भनिन्, ‘अहिलेसम्म उहाँको स्थिति पत्ता लागेको छैन । हामीले भगवानसँग प्रार्थना गरौँ नेपालका छोरा विपिन जोशी सकुशल छन् । कुनै दिन नेपाल फर्किनेछन् भन्ने आशामा छौँ ।’
मन्त्री राणाले जोशीको खोजीमा हार मान्न नहुने बताइन् । सरकारले जतिसक्यो अन्तर्राष्ट्रिय फोरममा यो कुरा उठाउँदै आएको उनको भनाइ थियो ।

