इरानद्वारा कतारस्थित सैन्य बेसमा ६ मिसाइल आक्रमण

काठमाडौं । इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ मिसाइल प्रहार गरियो । इजरायलले इरानका आणविक क्षेत्रमा आक्रमण थालेको एक सातापछि युद्धमा जोडिएको अमेरिकाले इरानका तीन आणविक केन्द्रमा बम हानेको थियो ।

जवाफस्वरुप इरानले गयराति कतारस्थित अमेरिकी सैन्य बेसमै ६ वटा मिसाइल हानेर धावा बोलिदियो । त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इजरायल र इरान युद्धबिरामका लागि तयार भएको दाबी गरेका छन् ।

इरानबाट जम्मा १९ वटा मिसाइल प्रक्षेपण भएको थियो ।

तार सरकारका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार माजिद बिन मोहम्मद अल-अन्सारीले विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र तथा अन्तर्राष्ट्रिय कानुनहरूको गम्भीर उल्लंघन भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले यस प्रकारका कार्यहरूले क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्न सक्ने भन्दै तुरुन्तै शान्तिपूर्ण संवादमा फर्कन आग्रह गरे ।

उनका अनुसार, अल उदीद सैन्य अड्डाबाट सुरक्षाका सबै आवश्यक कदमहरू अपनाउँदै समयमै सैनिक र कर्मचारीहरूको सुरक्षित स्थानान्तरण गरिएको थियो । यस आक्रमणबाट कुनै पनि व्यक्ति घाइते वा हताहत भएको विवरण नभएको पुष्टि गरिएको छ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले यस मिसाइल अभियानको जिम्मेवारी लिँदै उक्त कार्यलाई ‘अभिनन्दनको विजय’ नाम दिएको छ।

उनीहरूले इराक र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरिएको बताएका छन् । इरानले आफ्नो राष्ट्रिय स्वाधीनता, भूभागीय अखण्डता र सुरक्षामा भएको कुनै पनि हस्तक्षेपको जवाफ दिन आफू बाध्य हुने स्पष्ट पार्दै आएको छ। यो प्रहार अमेरिकी पक्षबाट शनिबार इरानका तीनवटा परमाणु केन्द्रमा गरिएका हवाई आक्रमणको प्रतिशोधस्वरूप गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार