सिद्दार्थ बैंकको मोबाइल एपमा भएको ‘इजि बैंक’ थप परिष्कृत,एपबाट केवाइसी अध्यावधिकदेखि कर्जा सुविधाको सेवा पाइने

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘इजी बैंक’लाई थप परिष्कृत र ग्राहकमैत्री बनाएको छ । परिस्कृत संस्करणमा बैंकिङ सेवाहरू अझ सहज, सुरक्षित र प्रभावकारी ढंगले उपयोग गर्न सकिनेगरी सुधार गरिएको छ।

डिजिटल बैंकिङमा अग्रणी सिद्धार्थ बैंकले एपमार्फत खाताको विवरण, कर्जा सुविधा, ग्राहक सेवा, केवाईसी अद्यावधिक र कार्डसम्बन्धी सेवालाई थप सहज बनाएको हो । एपबाटै कर्जादेखि, केवाईसी अपडेट, कार्डसम्बन्धी सम्पूर्ण सेवालगायतका सुविधा प्रदान गरिएको छ । आफ्नो डिम्याट खाता खोल्न र सुचारु गर्न बैंकसम्म पुग्नु नपर्नेगरी घरबाटै अनलाइन सेवा लिन सकिनेगरी सुविधा पनि थप गरिएको छ । कतिसम्म भने आईपीओ भर्दा कहिलेकाहीँ सीआरएन नम्बर बिर्सिएर समस्या हुने गरेकोमा त्यसको समाधान पनि एपमा गरिएको छ ।

उक्त मोबाइल एपमा लगइन गरेपछि ‘सर्भिस रिक्वेस्ट’ अन्तर्गत सुरुमा देखिने ‘इजी बैंक’ आइकन क्लिक गर्नासाथ प्रमुख पाँच सेवाहरू देखिन्छन्, ती सेवाहरू निम्न प्रकारका छन्:

खाता विवरण हेर्न मिल्ने
ग्राहकले ‘अकाउन्ट डिटेल’ मार्फत आफ्नो बैंक खातासम्बन्धी सम्पूर्ण जानकारीहरू सजिलैसँग प्राप्त गर्न सक्छन् । यसअन्तर्गत, उनीहरूले चल्ती खाता, बचत खाता, मुद्दती निक्षेपजस्ता निक्षेपसम्बन्धी विवरणहरूका साथै, लिएको कर्जाको स्थिति, नन-फन्डेड कर्जाको विवरण, र बैंकबाट जारी भएका सबै चेकहरूको पूर्ण विवरण सहज रूपमा अवलोकन गर्न सक्छन् । यसले ग्राहकलाई आफ्नो वित्तीय अवस्थाबारे स्पष्ट जानकारी राख्न मद्दत पुऱ्याउँछ ।

एपबाटै ऋण !
अबदेखि मुद्दती निक्षेप धितो राखेर कर्जा लिन शाखा जानुपर्ने बाध्यता हटेको छ । ग्राहकले मोबाइल एपमार्फत आवश्यक विवरण भरेर मुद्दतीको ९० प्रतिशत कर्जा माग गर्न सक्नेछन् । यस्तो रकम स्वीकृत हुने बित्तिकै ग्राहकले आफ्नो बचत खातामा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । यसका साथै मर्चेन्ट क्युआर सञ्चालकहरूले पनि यसै एपमार्फत नियमअनुसार कर्जा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै सिद्धार्थ बैंकको इजी बैंक (EasyBank) मोबाइल एपमार्फत ग्राहकहरूले बैंकको शाखामा नगइकनै सजिलै क्रेडिट कार्ड ऋणको ईएमआई (Equated Monthly Installment) सुविधा लिन सक्नेछन् । ग्राहकहरूले आफ्नो क्रेडिट कार्डको बाँकी रकमलाई किस्ता प्रणालीमा परिवर्तन गरी सहज रूपमा तिर्न सक्नेछन् ।

ग्राहक सेवाको सुविधा
कुनै चेक हराएमा वा रोक्नुपरेमा चेक नम्बर र कारण उल्लेख गरी तुरुन्तै रोक्का गर्न सकिने व्यवस्था छ । कारोबारका क्रममा कुनै कारणले आफ्नो खाता ब्लक गर्नुपर्ने भएमा यसैअन्तर्गत ब्लकको सुविधा लिन सकिनेछ ।

ग्राहकले एक प्रकारको बचत खाताबाट अर्को प्रकारको बचत खातामा परिवर्तन गर्नुपरेमा यहीँबाट पाइने भएकाले अर्को कुनै निवेदन आवश्यक पर्दैन ।

केवाईसी अपडेट
बैंकले ग्राहक पहिचानसम्बन्धी व्यक्तिगत विवरण अद्यावधिक गर्न ‘अनलाइन केवाईसी’ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत ग्राहकले वार्षिक आम्दानी, शैक्षिक योग्यता, प्यान नम्बर, वैवाहिक तथा पारिवारिक विवरण, पेशा, ठेगाना, आम्दानीका स्रोत लगायतका विवरण तथा आवश्यक कागजात डिजिटल रूपमा अपडेट गर्न सक्नेछन् । साथै, ग्राहकले शाखामा उपस्थित नभई यसै माध्यमबाट सुरक्षित र सहज रूपमा (NID) नम्बर पनि अद्यावधिक गर्न सक्नेछन् ।

कार्डसम्बन्धी सम्पूर्ण सेवा
इजी बैंक मोबाइल बैंकिङ एपमार्फत ग्राहकले आफ्ना कार्डहरू सरल रूपमा व्यवस्थापन गर्न सक्नेछन् । एपको मद्दतले कार्ड ब्लक वा अनब्लक गर्नुका साथै पिन बिर्सिएको अवस्थामा सजिलै पुनः जारी गर्न सकिन्छ । यसले ग्राहकलाई सुरक्षित र सहज डिजिटल सेवा प्रदान गर्दछ । यसका अतिरिक्त, ग्राहकले आफ्नो क्रेडिट कार्ड विवरणलाई मोबाइल बैंकिङ एपमा लिंक गरेर EasyBank सेवामार्फत क्रेडिट कार्ड स्टेटमेन्ट विवरण पनि जाँच गर्न सक्छन् ।

यो एप केवल मोबाइलमा मात्रै होइन, ल्यापटप तथा कम्प्युटरबाट पनि सञ्चालन गरी यसका सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यसका लागि बैंकको वेबसाइटमार्फत ‘लग-इन’ आइकन क्लिक गरी ‘इजी बैंक’मा जान सकिन्छ । यसबाट अकाउन्ट सर्भिस, कार्ड सर्भिस र डिम्याट सर्भिस सेवा पाउन सकिन्छ ।

यस प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरू एकै ठाउँमा सङ्कलन गरिएको छ । वेबसाइटमा अकाउन्ट सर्भिस, कार्ड सर्भिस र डिम्याट सर्भिस गरी ग्राहकले विभिन्न अनलाइन सुविधाहरू एकै ठाउँमा लिन सक्छन् ।

अकाउन्ट सर्भिस
यस सेवाअन्तर्गत बैंक खाता खोल्ने, मुद्दती खाता खोल्ने, भिडियो बैंकिङ-अनलाइन एकाउन्ट एक्टिभेसन, प्यान अपडेट र ग्राहक जानकारी प्रमाणीकरणजस्ता सेवा उपलब्ध छन् ।

ग्राहकले अनलाइनबाट खाता खोल्ने बित्तिकै उक्त खाता सक्रिय भएको हुँदैन । सम्भव भएसम्म एक पटक नजिकको शाखा कार्यालयमा सम्बन्धित व्यक्ति पुग्नैपर्छ । तर बैंकले अनलाइनबाट खाता खोल्नेहरूका लागि शाखा कार्यालयमा जान नसक्ने अवस्थामा भिडियो केवाईसीको पनि सुविधा दिएको छ । उक्त सुविधा यसै एपमार्फत प्रदान गर्ने बैंकले जनाएको छ । जसले अनलाइनबाट खुलेका खातालाई पूर्ण रूपमा चालु गर्न मद्दत गर्नेछ ।

साथै बैंकको कुनै पनि शाखामा उपस्थित नभई घरमै बसी बसी प्यान अपडेट गर्न सकिन्छ भने ग्राहक जानकारी प्रमाणीकरणअन्तर्गत ग्राहकको मोबाइल नम्बर र इमेल पनि अनलाइनमार्फत नै प्रमाणीकरण गर्न सकिन्छ ।

कार्ड सर्भिस
यस सेवाअन्तर्गत बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्य लिएको छ । यसका लागि बैंकले नयाँ क्रेडिट कार्ड वा डेबिट कार्डका लागि आवेदन दिन सकिने व्यवस्थासमेत गरेको छ ।

अब क्रेडिट र डेबिट कार्डका लागि ग्राहकले भौतिक रूपमा बैंकसम्म नपुगिकनै घरैबाट क्रेडिट तथा डेबिट कार्ड आवेदन दिन सक्नेछन् । यसका लागि ग्राहकले सुरुमा त बैंकको वेबसाइटमा गएर आवश्यक विवरण भर्नुपर्छ । सहज रूपमा अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यस्तै, पहिले नै कार्ड लिइसकेका, तर म्याद सकिएका ग्राहकले पनि यस सेवाअन्तर्गत रहेर कार्ड नवीकरण तथा प्रतिस्थापनसमेत गर्न सकिने सुविधा बैंकले दिएको छ । कार्ड नवीकरण गर्दा ग्राहकले आफूलाई पायक पर्ने नजिकको शाखा छान्नुपर्ने हुन्छ । कार्ड बनेपछि त्यसरी छानेको शाखामै आइपुग्छ ।

बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बनाउन बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

डिम्याट सर्भिस
यस सुविधाअन्तर्गत ग्राहकले आफ्नो डिम्याट खाता खोल्न र सुचारु गर्न बैंकसम्म पुग्नु पर्दैन । अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकले भौतिक रूपमा बैंकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि निवेदन दिन सक्नेछन् । यस निम्ति ग्राहकले बैंकको वेबसाइटमा गई (EasyBank > Demat Services > Demat Account) वा सोझै सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलको लिङ्क (https://onlinedemat.siddharthacapital.com) मा गई आवश्यक विवरण भर्न सकिनेछ ।

आईपीओमा आवेदन दिँदा सीआरएन नम्बर भुलेर कहिलेकाहीँ समस्या परिरहेको हुन्छ । सिद्धार्थ बैंकले यसै इजी बैंकमार्फत आफ्नो सीआरएन नम्बर हेर्न मिल्ने बनाएको छ ।

यसरी सहज रूपमा अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्थाले ग्राहक स्वयं बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने भएको छ । यसले मानिसहरूको अमूल्य समय मात्र जोगाएको छैन, ग्राहकलाई थप सुविधा पुग्ने विश्वास पनि बैंक व्यवस्थापनले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार