काठमाडौं । पछिल्लो समय शेयर लगानीकर्ताहरुले अडलट कारोबारमा कमी गर्दै गएका छन् । नेपालको धितोपत्र बजारमा सहज नमानिने अडलट करोबारमा पछिल्लो सयम ४९ प्रतिशतले गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज, नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार चालु आर्थिक वर्ष (आव)को ११ महिनामा लगानीकर्ताहरुले १ करोड ३६ लाख ८५ हजार कित्ता शेयर ५ अर्ब ३७ करोड १४ लाख बराबरको धितोपत्र अडलट कारोबारमार्फत गरेका हुन् । जुन गत आवको सोहि अवधिको तुलनामा अडलट कारोबार रकम ४९ प्रतिशतले कम हो । गत आवको ११ महिनामा उनीहरुले ४ करोड २६ लाख ९६ हजार कित्ता शेयर १० अर्ब ४३ करोड ६७ लाख बराबरको धितोपत्र अडलट करोबारमार्फत गरेका थिए ।
जेठमा मात्र १६ लाख ७८ हजार कित्ता शेयर ३३ करोड १९ लाख बराबरको धितोपत्र अडलट कारोबारमार्फत भएको हो । जुन गत वर्षको जेठको तुलनामा अडलटक कारोबार रकम ६३ प्रतिशतले बढी हो । गत वर्षको जेठमा मात्र २ लाख ८६ हजार कित्ता शेयर २० करोड ५७ लाख बराबरको धितोपत्र अडलट कारोबारमार्फत भएको थियो ।
सामान्यतया लगानीकर्ताले आफूसँग रहेको १० कित्ताभन्दा थोरै शेयर खरिदबिक्री अडलट कारोबारबाट गर्ने गर्छन् । धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार लगानीकर्ताहरूले आफूसँग एक सय रुपैयाँ अंकित मूल्य भएको १० कित्ताभन्दा कम धितोपत्र भएमा वा १० रुपैयाँ अंकित मूल्य भएको एक सय कित्ताभन्दा कम धितोपत्र भएमा त्यस्तो धितोपत्रको कारोबारलाई अडलटबाट गर्ने गर्छन् ।
नेपालको धितोपत्र बजारमा अडलट कारोबार सहज मानिदैन ।
प्राविधिक रुपमा कारोबार गर्न कठिन रहेको अवस्था देखिदाँ पनि कारोबारमा कमी आएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।
‘अडलट कारोबारका लागि तथ्याङक अर्थात् मार्केट डेप्थमा तथ्याङक सार्वजनिक नहुँदा कारोबार गर्न कठिनाई हुन्छ,’ उनले भने,‘ १ देखि ९ कित्तासम्म बिक्री गर्नुपर्दा लगानीकर्ताले दोहोरो कमिसन तिनुपर्ने वाध्यता हुँदा अडलट कारोबार घट्नलाई नराम्रो भन्न सकिदैन । ’
तथ्याङक नहुँदा अन्दाजको भरमा माग राखी खरीद बिक्री गर्नु पर्ने अवस्था रहेकोले समेत यो कारोबारलाई लगानीकर्ताले सहज मान्न नसकिएएको नेप्सेका अधिकारीहरु बताउँछन् । अधिकारीका अनुसार अडलट कारोबारको तथ्याङक नेप्से इन्डेक्ससँग नजोडिने अर्थात् वास्तविक कारोबारमा गणना नहुने भएकाले पनि मार्केट डेप्थ समेत नदेखाउने गरिएको पाइन्छ ।


