सिटिजन्स सदाबहार योजनाको बिक्री आजदेखि खुला

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको पहिलो खुलामुखी योजना सिटिजन्स सदाबहार योजनाको इकाई सार्वजनिक निष्कासन आजदेखि खुला भएको छ। नेपाल धितोपत्र बोर्डबाट ५० करोड रुपैयाँ बराबरको इकाई निष्कासनको अनुमति प्राप्त यस योजनामा सिस्टेमाटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) समेत गर्न सकिने व्यवस्था छ।

इकाई बिक्री असार १३ गतेदेखि असार १७ गतेसम्म बैंकिङ समयसम्म खुला रहनेछ भने तोकिएको समयसम्म सम्पूर्ण इकाई बिक्री नभएमा असार २७ गतेसम्म निष्कासन खुला रहने सिटिजन्स क्यापिटलले जानकारी दिएको छ। लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्।

निष्कासनमा सहभागी हुन इच्छुक लगानीकर्ताले मेरो शेयर प्रणाली, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि(आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरूबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। पहिलो चरणको इकाई बाँडफाँडपछि नियामक स्वीकृति लिई एसआईपी मार्फत थप इकाई निष्कासन गरिने योजना व्यवस्थापकले जनाएको छ।

यसअघि संचालित सिटिजन्स म्युचुअल फण्ड १ बन्दमुखी योजना सफलतापूर्वक सम्पन्न भएको छ। ८ करोड २० लाख इकाई रहेको उक्त ७ वर्षे योजनाले अन्तिम प्रति इकाई खुद सम्पत्ति मूल्य ११.३० रुपैयाँ कायम गर्दै १३ प्रतिशत प्रतिफल वितरण सुरु गरेको छ। प्रतिफल रकम २०८२ जेठ २७ गतेदेखि इकाईधनीहरूको अद्यावधिक बैंक खातामा जम्मा हुन थालेको हो। योजनाको अवधिभर पुँजीगत लाभ र वितरित प्रतिफल जोड्दा प्रति इकाई औसत वार्षिक प्रतिफल १२ प्रतिशत रहेको व्यवस्थापकले जनाएको छ।

सिटिजन्स क्यापिटल लिमिटेडले भौतिक इकाई धारण गरी अहिलेसम्म अभौतिकीकरण नगराएका इकाईधनीलाई तीनपुस्ते विवरण र बैंक खाता विवरणसहित निवेदन पेश गर्न अनुरोध गरेको छ। धितोमा राखिएको इकाई फुकुवा गराउन सम्बन्धित संस्थाबाट फुकुवा पत्र पेश गरेपछि मात्र रकम भुक्तानी गरिने जनाएको छ।

सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी हो, जसमा कर्मचारी सञ्चय कोष र प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी छ। अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र सीईओ सबिर बादे श्रेष्ठ नेतृत्वमा रहेको कम्पनीले सम्पूर्ण शाखामार्फत पोर्टफोलियो व्यवस्थापन सेवा पनि प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार