काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ति नदेखाउन चेतावनी दिएकी छन् । प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएकी हुन् । उनले मानव तस्करीको नाममा किन नेपाली जनतालाई लुटेको भन्दै प्रश्न गरिन् ।
उनले गृहमन्त्रीलाई आफूले सोझो ठानेको भए पनि चम्मु बाठो पाएको जिकिर गरिन् । उनले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न आफू पनि बच्ने र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन गरेको आरोप लगाइन्।
उनले केही दिनअघि गठित शंकरदास वैरागी नेतृत्वको समितिबाट गृहमन्त्री लेखकलाई कमाएको रकम बचाउन सजिलो भएको टिप्पणी गरेकी हुन् ।
‘मैले तगृहमन्त्रीज्यूलाई सोझो–साझो ठानेको थिएँ । उहाँ त चम्फु बाठो हुनुहुँदो रहेछ,’ सांसद कार्कीले भनिन्, ‘उहाँले त यस्तो समिति बनाउनुभयो कि त्यो समितिबाट उहाँलाई त फुत्किन धेरै सजिलो भयो । र, कमाइलाई पनि बचाउनलाई धेरै सजिलो भयो ।’
उनले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकलाई धेरै फुर्ति नखाउन पनि सुझाव दिइन् । ‘गृहमन्त्रीज्यू धेरै फुर्ति नदेखाउनुस् । किन भने त्यो एक दिन यस्तो समय आउँछ, तपाईं पनि त्यो पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ,’ कार्कीले प्रश्न गरिन्, ‘त्यतिखेर नेपाली जनतालाई के जवाफ दिनुहुन्छ ?’
सांसद कार्कीले गृहमन्त्री लेखकमाथि नेपाली जनता बेचेर ५० लाखदेखि एक करोडका दरले दैनिक कमाइ गरेको पनि आरोप लगाइन् । ‘तपाईंले भिजिट भिसाको नाममा जुन दैनिक ५० लाखदेखि एक करोडसम्म असुली गर्नुभएको छ,’ उनले आरोप लगाइन्, ‘नेपाली जनतालाई बेच्नुभएको छ ।’
राप्रपा सांसद कार्कीले गृहमन्त्री लेखकलाई नैतिकता देखाएर राजीनामा दिन पनि सुझाव दिइन् । ‘गृहमन्त्रीज्यू तपाईंसँग नैतिकता छ भने राजीनामा गर्नुस् । र, छानबिनलाई सघाउ पुर्याउनुस् ।’

