टेरामक्स भ्रष्टाचार मुद्दाः पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित

काठमाडौं । ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा देखिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा संलग्न देखिएका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन्। अदालत प्रशासनका अनुसार उनीमाथि हाल विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान लिने कार्य जारी छ।

बयान सम्पन्न भएपछि आजै थुनछेक बहस हुने विशेष अदालतले जनाएको छ। सिन्धुपाल्चोकबाट निर्वाचित सांसद समेत रहेका बस्नेतले सञ्चारमन्त्री रहँदा पदीय जिम्मेवारीको दुरुपयोग गरी ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो आरोपसहित जेठ १ गते विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार परामर्शदाताको जिम्मेवारी अनुरूप डिजाइन, डेभलप, सप्लाइ, सफ्टवेयर स्थापना जस्ता कुनै कार्य नगरी केवल सामान आपूर्ति गरेबापत १ अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रुपैयाँ भुक्तानी दिइएको थियो। त्यसमाथि थप दायित्व सिर्जना भई नेपाल दूरसञ्चार प्राधिकरणलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याइएको अख्तियारले बताएको छ।

यस प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ। अन्य अभियुक्तहरूमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाल, नेपाल सरकारका पूर्वकानुनमन्त्री धनराज ज्ञवाली, प्राधिकरणका सञ्चालक समिति सदस्य टीकाप्रसाद उप्रेती, निर्देशकहरू विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दीपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र, सन्दीप अधिकारी, परामर्शदाता जमाल अनौती तथा एजेन्टहरू दिलीपकुमार गुरुङ र तेजप्रसाद खरेल छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार