सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, अनुमोदनको निर्णय ‘होल्ड’

काठमाडौं ।सर्वोच्चका प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ सकिएको छ ।

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित न्यायाधीश मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापामाथि सुनुवाइ सकिए पनि अनुमोदनको निर्णय भने भएको छैन ।

उनीहरूलाई न्याय परिषदले जेठ २७ गते सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो । त्यस्तै महेशकुमार नेपाल न्यायपरिषदको सदस्य सिफारिस भएका थिए। आइतबारदेखि उनीहरूको संसदीय सुनुवाइ सुरू भएको थियो ।

समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले सोमबार समय अभावका कारण अनुमोदन नभएको जानकारी दिइन् । ‘आज अलि समय अभाव भयो । संसद दिवस पनि भयो, अरू समितिको पनि बैठक छ । त्यसकारण हामीले सम्पन्न गर्न सकेनौं । अर्को बैठकमा निर्णय गर्छौं ,’ उनले भनिन् । ‘उहाँहरूको कार्ययोजना सुन्यौं । अब निर्णय गर्नका लागि अर्को दिन बस्छौं,’ उनले भनिन् ।

तर, अर्को बैठक कहिले बस्ने भन्नेबारे तय नभइसकेको उनले बताएकी छन् । समिति स्रोतका अनुसार सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीश मेघराज पोखरेलको सन्दर्भमा केही सांसदहरूले प्रश्न उठाएका थिए । पोखरेलको राजनीतिक र व्यापारिक संलग्नताको विषयमा केही सांसदले कुरा उठाएका थिए । एमाले मुख्य सचेतक महेश बर्तौलाले सुनुवाइका क्रममा उनलाई न्यायाधीश बन्ने लाइनबाट अलग हुन सुझाव नै दिएका थिए । ‘मेरो व्यक्तिगत मत के हो भने यो प्रक्रियाबाट तपाईं अलग्गिनु राम्रो हुन्छ,’ बर्तौलाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार