काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई बजार पूँजीकरणको आधारमा वर्गीकरण गर्ने प्रक्रिया अघि बढाएको छ। नेप्सेले कम्पनीहरूलाई उच्च (लार्ज) , मध्यम (मिड) र न्यून (स्मल) क्यापमा वर्गीकरण गर्ने तयारी थालेको हो।
नेप्सेका अनुसार हाल तयार गरिएको ‘नेप्से अन्तर्गत सञ्चालन हुने सूचकांकहरूको विकास, सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०८०’ अनुरूप यो प्रक्रिया अघि बढाइएको हो। कार्यविधिमा पूँजी बजारलाई चलायमान बनाउन बजार पूँजीकरणका आधारमा कम्पनीहरूको वर्गीकरणसहित विभिन्न औजार प्रयोग गर्न सकिने प्रावधान रहेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए।
प्रवक्ता पराजुलीले भने, ‘विश्वका अन्य देशहरूमा बजार पूँजीकरणका आधारमा कम्पनीहरू वर्गीकरण गर्ने प्रचलन छ। हाम्रोमा यस्तो व्यवस्था नहुँदा लगानीकर्ताहरूलाई कम्पनीको स्तर बुझ्न कठिन भएको छ। वर्गीकरणपछि कम्पनीहरूको अवस्था बुझ्न सजिलो हुनेछ।’
हाल नेप्सेमा ४ वटा प्रमुख इन्डेक्स र १३ वटा सब-इन्डेक्स सञ्चालनमा छन्। यी इन्डेक्सहरू बाहेक लगानीकर्तालाई विश्लेषण गर्न थप औजार प्रदान गर्न बजार पूँजीकरणको आधारमा नयाँ इन्डेक्स थप गर्ने तयारी नेप्सेले गरिरहेको छ।
कसरी हुन्छ वर्गीकरण?
नेप्सेले सूचीकृत कम्पनीहरूलाई बजार पूँजीकरणको आधारमा तीन समूहमा विभाजन गर्नेछ। बजार पूँजीकरणका आधारमा शीर्ष ३३ प्रतिशत कम्पनी उच्च श्रेणीमा पर्नेछन्। त्यसपछि आउने ३३ प्रतिशत मध्यम श्रेणीमा रहनेछन् भने बाँकी ३३ प्रतिशत कम्पनी न्यून श्रेणीमा रहनेछन्।
यसले लगानीकर्तालाई बजार पूँजीकरणको आधारमा कम्पनीहरूको अवस्था बुझ्न र त्यसअनुसार सूचकांक अध्ययन गर्न थप सहजता ल्याउने प्रवक्ता पराजुलीले बताए।
कार्यान्वयन प्रक्रिया
वर्गीकरण कार्यान्वयनका लागि नेप्से कर्मचारीहरु आन्तरिक तथा विज्ञसँगको छलफलमा रहेका छन् । वर्गीकरणको प्रारम्भिक खाँका तयार भएपछि टिप्पणी संकलन गरिनेछ र उक्त प्रस्तावलाई नेप्सेको व्यवस्थापन समितिमा पेश गरिनेछ। समितिबाट आवश्यक परिमार्जनसहित प्रस्ताव सञ्चालक समितिमा पेश हुनेछ र सञ्चालक समितिको अनुमोदनपछि मात्र कार्यान्वयनमा ल्याइनेछ। हाल यो प्रक्रिया सुरुवाती चरणमै रहेको नेप्सेले जनाएको छ।

