धितोपत्र बोर्डले गर्यो दुई ब्रोकर कम्पनीलाई कारबाही

काठमाडौं । दुई धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरु नेपाल धितोपत्र बोर्डको कारवाहीमा परेका छन् ।

बोर्डले ब्रोकर नम्बर १०१, एप्पल सेक्युरिटिज र ब्रोकर नम्बर ९३, बेनी सेक्युरिटिजलाई कारवाही गरेको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) र (२) बमोजिम तोकिएको समयभित्र आर्थिक वर्ष २०८०।८१ को लेखापरीक्षण प्रतिवेदन बोर्डमा पेश नगरेको भन्दै बोर्डले यी दुई कम्पनीलाई कारवाही गर्ने निर्णय गरेको हो ।

असार १३ गतेको निर्णय बमोजिम यी दुई कम्पनीलाई प्रथम पटकका लागि ५ हजार रुपैयाँका दरले आर्थिक जरिवाना सहित कारवाही गरिएको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम आर्थिक जरिवाना गरिएको जानकारी बोर्डले दिएको छ । धितोपत्र सम्बन्धी ऐनमा हिसाब तथा विवरण पेश गर्नुपर्ने व्यवस्थामा धितोपत्र व्यवसायीले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र बोर्ड र नेप्सेमा आर्थिक वर्षको लेखापरिक्षण विवरण पेश गर्नुपर्ने हुन्छ । सो व्यवस्था बमोजिम कार्य नगरेपछि दुई ब्रोकर कम्पनी कारवाहीमा परेका हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार