काठमाडौं । नेकपा एकीकृत समाजवादीमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानीमा संलग्नहरूलाई कारबाहीको माग गरेका छन् ।
मंगलबार सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो विषय टुङ्गोमा नपुगेसम्म अब समितिको बैठक बस्न नसक्ने बताए ।
उनले भने, ‘यसमा संलग्नलाई कारबाही गरिएन भने राज्य व्यवस्था समितिको बैठक पनि बस्दैनौं । अब कुनै विधेयक पास पनि हुँदैनन् । प्रहरीकोसहित अन्य थुप्रै महत्वपूर्ण विधेयकहरू छन् । पास पनि हुँदैन । हामी मात्रै होइन, अरू संसदीय समितिका सदस्यहरूले पनि पास गर्ने एउटा, निर्णय गरेर आउने अर्को, संसदमा लैजाने अर्को हुने भएपछि अविश्वासको स्थिति सिर्जना भयो । सांसदहरूको अपमान भयो ।’
उनले उक्त प्रकरणले व्यवस्थापिकामाथि कार्यपालिका हाबी भएको भन्दै सिङ्गो व्यवस्थामाथि नै हानी गर्ने बताए ।

