CLI

युनाइटेड अजोड इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लाभांश प्रयोजनार्थ युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५५६.६२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ६१२.२८ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको शेयर कारोबारमा आउनेछ।

कम्पनीले आफ्नो ३१ औँ वार्षिक साधारणसभा यही असार ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेट एन्ड इभेन्टमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले आज असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो असार १८ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसअघि कम्पनीले बोनस शेयर घोषणा गर्नुअघि हाल कायम चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा लैजाने तयारी गरेको थियो। तर, बोनस शेयर वितरणपछि कम्पनीले हकप्रद शेयरको आकार १० प्रतिशतमा झारेको हो।

हकप्रद शेयर जारीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ कायम हुनेछ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ।

Leave Your Comment

Related News