काठमाडौं । कर्णाली प्रदेश अन्तर्गतको हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएको छ । चुवाखोला–कर्णाली नदीमाथि बेलिब्रिज निर्माण भएसँगै सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएको हो ।
कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका ५ को च्याखोला नदीमा निमार्णिधीन बेलिब्रज आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । योसँगै औपचारिक रुपमा हुम्मा सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।
प्रधानमन्त्री ओलीले यसको जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्,‘हुम्ला जाने कुरा बताइरहनु पर्ने त होइन, तर आज विशेष उत्साह लिएर खार्पुनाथ हुम्ला जाँदै छु। किनभने आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिजले हाम्रो दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने छ। यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ हुन्छ र हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ । ४१० किलोमीटर यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्छ र हाम्रो वैदेशिक व्यापारलाई सहयोग पुग्छ। अनि यसले सडक सञ्जालमा जोडिन बाँकी एकमात्र जिल्ला हुम्लालाई राष्ट्रिय राजमार्गमा पनि जोड्ने छ।’
राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर २०५६ सालमा शिलान्यास भएको थियो । दक्षिणको नेपालगञ्ज नमुनाहा नाका–उत्तरी हुम्लाको चीन–नेपाल हिल्सा नाका जोड्ने यो करिडोर ६८२ किलोमिटर छ ।

