काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले घर वा जग्गा खरिद गर्ने भएको छ । केन्द्रीय कार्यालयका लागि घर / जग्गा खरिद गर्न आवश्यक भएकाले शर्त बन्देजहरुको अधिनमा रही बिक्री प्रस्ताव पेश गर्न बैंकले सूचना जारी गरेको छ ।
चक्रपथसंग जोडिएको वा चक्रपथभित्र २ रोपनीदेखि ४ रोपनीसम्म जग्गा वा घर कम्तिमा ३० हजार वर्ग फिट क्षेत्रफल रहेको र पर्याप्त पार्किङ्ग सुविधा भएको हुनुपर्ने सूचनामा उल्लेख छ । महाराजगंज, बालुवाटार, लाजिम्पाट, नक्साल, कमलपोखरी विशालनगर, अनामनगर, दरबारमार्ग, कान्तिपथ, पुतलीसडक, कमलादी, नागपोखरी, गैहिधारा, ज्ञानेश्वर, नयाँबानेश्वर क्षेत्रलाई विशेष प्राथमिकता दिइने बैंकले बताएको छ ।
बिक्रेताले बैंकले निर्धारण तथा प्रमाणित गरेको सक्क्ल बोलपत्र फाराम बैंकबाट लिई सोहि बमोजिम पेश गरिएको हुनु पर्नेछ । प्रतिलिपी वा फोटोकपीमा भरिएको बोलपत्रलाई मान्यता दिइने छैन । बोलपत्र फाराम बैंकको केन्द्रीय कार्यालयको सामान्य सेवा विभाग, थापाथलीबाट एक हजार रुपैयाँ फिर्ता नहुनेगरी जम्मा गरिएको सक्कल भौचर पेस गर्न सूचनामा भनिएको छ ।
यस्ता छन् शर्त
- प्रस्तावित जग्गामा बैंकको आवश्यकता अनुसार घर निर्माण गर्न मिल्ने हुनु पर्नेछ ।
- घरको सम्बन्धमा घरको नक्सा, सम्बन्धीत निकायबाट निर्माण सम्पन्न पत्र दिएको, भुकम्प प्रतिरोधी, हुनु पर्ने ।
- शिलबन्दी प्रस्तावका साथ बिक्री गरिने घर जग्गाको जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपी, निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एवं बिक्री मुल्य समेत अंक र अक्षरमा स्पष्ट खुलाई प्रस्ताव पेश गर्नुपर्नेछ । घर जग्गाको चालु आर्थिक वर्ष सम्मको मालपोत, पुँजीगत लाभकर सम्बन्धित बिक्रेताले नतिर्नु पर्ने ।
- घर/जग्गामा जाने बाटो पेटी बाहेक कम्तीमा ८ मिटरको हुनु पर्नेछ र उक्त बाटो फिल्ड तथा नापी नक्सामा समेत स्पष्ट हुनुपर्ने । साथै उक्त जग्गामा कुनै पनि किसिमको कानूनी तथा व्यवहारिकसमस्या नभएको हुनु पर्ने ।
- जग्गाधनी दर्ता प्रमाणपत्रका उल्लेखित जग्गाको क्षेत्रफल र फिल्डमा नाप जाँच गर्दा एकिन भएको क्षेत्रफल मध्ये जुन कम हुन्छ सोही क्षेत्रफल कायम गरिने ।

