बाढीले रसुवागढी हाइड्रोको ड्याममा क्षति, चार्जिङ स्टेसन र भन्सार यार्डमा पनि हानी

काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ टिमुरे क्षेत्रमा आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

सशस्त्र प्रहरीको प्रारम्भिक सूचनाअनुसार बाढीले टिमुरेस्थित चार्जिङ स्टेशनमा राखिएका करिब ७/८ वटा विद्युतीय सवारी साधन बगाएको छ भने भन्सार कार्यालय रसुवाको यार्डमा रहेका ८/९ वटा लोड कन्टेनर डिब्बाहरु पनि बगाएका छन् ।

यस बाढीले १११ मेगावाटकाे रसुवागढी जलविद्युत आयोजनाको ड्याम संरचनामा समेत क्षति पुर्‍याएको छ । घटनास्थलतर्फ बिहान ५:०० बजे सशस्त्र प्रहरी बल नम्बर २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी निरीक्षक रविन्द्र दाहालको कमाण्डमा २१ जनाको उद्धार टोली खटिएको छ, जसमा विपद् व्यवस्थापन तालिम प्राप्त ७ जना प्रहरी पनि छन्।

स्याफ्रुबेशीदेखि अगाडि सडक चर्किएको र भोटेकोशी नदीमा बाढीको बहाव उच्च भएका कारण उद्धार टोली ६:२० बजेपछि पैदलमार्ग हुँदै घटनास्थलतर्फ प्रस्थान गरेको हो । घटनास्थलमा पुग्न टोलीलाई डेढदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेशी–रसुवागढी सडक खण्ड भोटेकोशी नदीको बाढीले पूर्ण रुपमा कटान गरेको छ । त्यससाथै पहिरोले सडक पूर्णरूपमा अबरुद्ध भएको छ ।
बाढीको जोखिम अझै कायम रहेकाले थप क्षतिको विवरण र मानवीय क्षति सम्बन्धी जानकारी संकलन भइरहेको छ । जोखिम क्षेत्र खाली गर्न स्थानीय प्रशासनले आह्वान गरिरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार