काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिकमा नेपालको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) ४. ८० प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विद्युत् उत्पादन, निर्माण, वित्तीय सेवा, खानी तथा खनिज उत्खननजस्ता क्षेत्रमा देखिएको उल्लेखनीय सुधारले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको हो ।
यस त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, निर्माण क्षेत्रमा भएको वृद्धि, वित्तीय तथा बिमा क्षेत्रमा भएको वृद्धिलाई प्रमुख कारक मानिएको छ । खानी तथा खनिज पदार्थ उत्खननमा भएको वृद्धिलाई पनि प्रमुख कारक मानिएको छ । चालू आवको माघ, फागुन र चैतको तेस्रो त्रैमासमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक क्षेत्र सबैमा धनात्मक वृद्धिदर रहेको अनुमान छ ।
खासगरी यस अवधिमा शिक्षा क्षेत्र, पानी तथा फोहोर व्यवस्थापन, आवास तथा भोजन क्षेत्रमा उल्लेख्य वृद्धि हुन नसकेकाले अर्थतन्त्रको वृद्धिदर सामान्य रहन गएको अनुमान रहेको छ । त्रैमासिक कुल ग्रार्हस्थ उत्पादन आधारभूत मूल्यमा चालू आव २०८१–८२ को दोस्रो त्रैमासिकको तुलनामा चालू आव २०८१–८२ को तेस्रो त्रैमासिकमा शून्य दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ ।
चालू आवको दोस्रो त्रैमासिकको तुलनामा चालू आवको तेस्रो त्रैमासिकमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये तीनवटा क्षेत्र (यातायात तथा भण्डारण, वित्तीय तथा बिमा र आवास तथा भोजन क्षेत्र)मा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिका कारणले समग्र कुल ग्रार्हस्थ्य उत्पादन झिनो अंकले मात्र वृद्धि हुने अनुमान गरिएको हो ।
यद्यपि, विद्युत् उत्पादन तथा वितरण क्षेत्रमा भने अन्य क्षेत्रको तुलनामा धेरै वृद्धि हुने अनुमान गरिएको छ । मौसमी प्रभाव समायोजित त्रैमासिक वृद्धिलाई हेर्दा चालू आव २०८१–८२ को दोस्रो त्रैमासिक (कात्तिक, मंसिर र पुस)को तुलनामा चालू आव २०८१–८२ को तेस्रो त्रैमासिक (माघ, फागुन र चैत)को प्रारम्भिक अनुमानअनुसार प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये १५ वटाको उत्पादन बढेको देखिन्छ भने तीनवटा औद्योगिक क्षेत्रको उत्पादन घटेको देखिन्छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार विद्युत् उत्पादन तथा ग्यास क्षेत्रमा सबैभन्दा बढी ५ दशमलव ५ प्रतिशत वृद्धि हुने र यस क्षेत्रलाई पछ्याउँदै अन्य सेवा क्षेत्रको वृद्धिदर २ दशमलव ५ प्रतिशत रहने अनुमान गरिएको छ । यस अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर शून्य दशमलव ७ प्रतिशत रहन गएको छ भने समग्र अर्थतन्त्रको वृद्धिदर शून्य दशमलव ६ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।
ऋणात्मक वृद्धि हुने तीनवटा औद्योगिक क्षेत्रहरूमध्ये सबैभन्दा धेरै यातायात तथा भण्डारण क्षेत्रको ऋणात्मक वृद्धिदर (३ दशमलव ३ प्रतिशत), त्यसपछि वित्त तथा बिमा क्षेत्रको ऋणात्मक वृद्धिदर (१ दशमलव ६ प्रतिशत) र आवास तथा भोजन क्षेत्रको ऋणात्मक वृद्धिदर (शून्य दशमलव ८ प्रतिशत) रहेको छ ।
चालू आव २०८१/८२ को तेस्रो त्रैमासिक र अघिल्लो आव २०८०/८१ को तेस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका सबै १८ वटा औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि दर धनात्मक रहेको छ । जसमध्ये विद्युत् उत्पादन तथा वितरणसँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर (१२ दशमलव ५ प्रतिशत) रहेको छ भने निर्माण क्षेत्रमा ६ दशमलव ९ प्रतिशत, खानी तथा खनिज पदार्थ उत्खनन र वित्तीय तथा बिमा क्षेत्रमा ६ दशमलव ७ प्रतिशत वृद्धि रहने प्रारम्भिक अनुमान गरिएको छ ।
त्यसैगरी, सूचना तथा सञ्चार क्षेत्रमा ६ दशमलव ६ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्रमा ६ दशमलव ३ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा ६ दशमलव २ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पु¥याउने कृषि क्षेत्रको वृद्धिदर ३ दशमलव ६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । हिउँदेबाली, तरकारीबाली तथा केही नगदेबालीको उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
अर्कोतर्फ, अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रको चालू आव २०८१/८२ को तेस्रो त्रैमासिकमा कृषि तथा व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादनमा भएको वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिका कारणले गर्दा व्यापार क्षेत्रको वृद्धि ५ दशमलव ६ प्रतिशत हुने अनुमान गरिएको छ । त्यसैगरी, गत आवको तेस्रो त्रैमासिकको तुलनामा चालू आवको तेस्रो त्रैमासिकमा औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धि ६ दशमलव २ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।
यस त्रैमासिकमा शिक्षा क्षेत्रको वृद्धि २ दशमलव ३ प्रतिशत, पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन क्षेत्रको वृद्धि २ दशमलव ४ प्रतिशत, आवास तथा भोजन क्षेत्रको वृद्धि २ दशमलव ५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । नेपालको आर्थिक वृद्धिदर विगतमा कहिले बढ्ने, कहिले घट्ने गरेको भए तापनि आव २०७९–८० देखि सुधारात्मक रूपमा निश्चित दिशा तय गर्न खोजेको देखिएको छ ।
कृषि क्षेत्रको योगदान उल्लेखनीय
सबैभन्दा धेरै योगदान दिने कृषि, वन तथा मत्स्य क्षेत्रमा पनि ३ दशमलव ६ प्रतिशत वृद्धिदर देखिएको छ । हिउँदेबाली, तरकारी र नगदेबाली उत्पादनमा देखिएको सुधार यसको मुख्य कारण मानिएको छ । व्यापार क्षेत्र पनि ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ, जसको श्रेय स्वदेशी उत्पादन वृद्धि र प्रमुख वस्तुहरूको आयात वृद्धिलाई दिइएको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सन्तोषजनक वृद्धि
शिक्षा क्षेत्रमा २ दशमलव ३ प्रतिशत र स्वास्थ्य क्षेत्रमा ४ दशमलव ७ प्रतिशतको वृद्धि अनुमान गरिएको छ । यद्यपि, शिक्षा क्षेत्रमा विगतको तुलनामा वृद्धि दर केही कम रहेको देखिन्छ । राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार आर्थिक वृद्धिका यी प्रारम्भिक तथ्यांकहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको हो ।
उनले भने, ‘त्रैमासिक जीडीपीको मूल्यांकनले नीति निर्माण, योजना निर्माण र आर्थिक पूर्वानुमानका लागि मार्गदर्शन प्रदान गर्छ ।’ हालको वृद्धिदर विगतको तुलनामा सुधारको संकेत भए पनि वृद्धिको दर अझ स्थिर र दिगो बनाउन उद्योग, व्यापार, वित्त र पूर्वाधार क्षेत्रमा लगानीको खाँचो देखिएको छ । साथै, ऋणात्मक वृद्धि देखिएका क्षेत्रमा पुनरावलोकन आवश्यक देखिएको छ ।
विगत ३ वर्षको तुलनामा नेपालको आर्थिक वृद्धिमा केही स्थायित्व देखिए पनि वृद्धिदर अझै सन्तोषजनक तहमा पुगेको छैन । विशेषतः सेवा र बैकिङ क्षेत्रको ऋणात्मक प्रवृत्ति र शिक्षा–स्वास्थ्य क्षेत्रमा कम वृद्धि चुनौतीका रूपमा देखिन्छ । उता, विद्युत्, निर्माण र कृषिमा देखिएको प्रगति भने भविष्यप्रति आशावादी संकेतका रूपमा रहेको छ ।

