काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य १३ प्रतिशतले घटेको छ ।
केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार जेठ मसान्तमा कच्चा पेट्रोलियमको मूल्य ७१.२९ अमेरिकी डलर रहेको छ ।
केन्द्रीय बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा २०८१ जेठ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ८१.४९ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८२ जेठ मसान्तमा १२.५२ प्रतिशतले कमी आई अमेरिकी डलर ७१.२९ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८१ जेठ मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर २ हजार ३३०.४५ रहेकोमा २०८२ जेठ मसान्तमा ४७.४१ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ३ हजार ४३५.३५ पुगेको छ ।
२०८१ असार मसान्तको तुलनामा २०८२ जेठ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.९७ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.६६ प्रतिशतले अवमूल्यन भएको थियो । २०८२ जेठ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१३७.४४ पैसा पुगेको छ । २०८१ असार मसान्तमा उक्त विनिमय दर रु.१३३.३६ पैसा रहेको थियो ।

