काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा २१३ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो ।
समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.२,७ खर्ब ८४ अर्ब ८० करोड र स्थायी निक्षेप सुविधामार्फत रु.१८५ खर्ब ५८ अर्ब ७० करोड गरी कुल रु.२१३ खर्ब ४३ अर्ब ५० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ भने रु.२ अर्ब ७० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी खुद रु.१९०० अर्ब ८४ करोड तरलता प्रशोचन गरिएको थियो ।
तरलता असन्तुलनका कारण अर्थतन्त्रमा समस्या नआओस् भन्ने उद्देश्यले राष्ट्र बैङ्कले तरलताको व्यवस्थापन गर्ने काम गर्दै आएको छ । विभिन्न वित्तीय औजारको प्रयोग गरी राष्ट्र बैङ्कले बजारमा धेरै तरलता भए प्रशोचन गर्ने र कम भए प्रवाह गर्ने गर्दछ । तरलता कम भएमा रिपो जारी गरेर तरलता प्रवाह गरिन्छ भने अधिक भएमा रिभर्स रिपो जारी गरी तरलता प्रशोचन गरिन्छ ।
बैङ्किङ प्रणालीमा असाधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिन आएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैङ्किङ प्रणालीबाट तरलता प्रशोचन गर्न निक्षेप सङ्कलन गरिन्छ वा सोझै बिक्री उपकरण प्रयोग गरिन्छ । त्यस्तै सोझै खरिद उपकरणमार्फत तरलता प्रवाह गरिन्छ ।
यसबाहेक राष्ट्र बैङ्कले ऋणपत्रमार्फत पनि तरलता व्यवस्थापन गर्दछ । यसबाहेक ब्याजदर कोरिडोर, सिसिडी रेसियो, अन्तरबैङ्क कारोबारलगायतका नीतिगत व्यवस्था एवं मापदण्डको प्रयोग गरेर पनि राष्ट्र बैङ्कले तरलता व्यवस्थापन गर्ने गर्दै आएको छ ।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ५ अर्ब १ करोड खुद खरिद गरी रु.६७३ अर्ब २५ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५ अर्ब ३३ करोड खुद खरिद गरी रु.७०८ अर्ब ८७ करोड तरलता प्रवाह गरेको थियो।
समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ४६ करोड बिक्री गरी रु.४ खर्ब ७१ अर्ब ३९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ६४ करोड बिक्री गरी रु.४ खर्ब ८४ अर्ब ४४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

