काठमाडौं । लघुबीमा कम्पनीहरूको व्यापार बढेको छ । चालू आर्थिक वर्षको ११ महिना (जेठसम्म) तीनवटा लघु जीवन बीमा कम्पनी र चार वटा लघुनिर्जीवन बीमा कम्पनीले १ अर्ब ९४ करोड ७८ लाख ४३ हजार रुपैयाँ बराबर बीमाशुल्क संकलन गरेका छन् । सात वटै लघुबीमा कम्पनीले कुल २० लाख १ हजार ५४० वटा बीमालेख जारी गरी उक्त बीमाशुल्क संकलन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार लघु जीवन बीमा कम्पनीहरूले मात्रै १ अर्ब ९ करोड ८२ लाख ५४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरूले १६ लाख ६२ हजार ३२६ वटा सक्रिय जीवन बीमालेखमार्फत सो बीमाशुल्क आर्जन गरेका हुन् ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले ११ लाख २० हजार ६८५ वटा सक्रिय जीवन बीमालेखमार्फत ४१ करोड ३६ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले ३ लाख ९४ हजार ४०१ वटा सक्रिय जीवन बीमालेखमार्फत ३९ करोड ९४ लाख ९९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले १ लाख ४७ हजार २४० वटा सक्रिय बीमालेखमार्फत २८ करोड ५० लाख ६३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
लघु निर्जीवन बीमातर्फ भने सञ्चालनमा रहेका चार वटा कम्पनीहरूले जेठ मसान्तसम्म ३ लाख ३९ हजार २१४ वटा बीमालेखमार्फत ८४ करोड ९५ लाख ८९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ९२ हजार ७६२ वटा बीमालेखमार्फत २३ करोड ७९ लाख ७७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले ८७ हजार ५९९ वटा बीमालेखमार्फत २१ करोड १० लाख ७९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरी स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले पनि ९१ हजार १८९ वटा बीमालेखमार्फत २० करोड १७ लाख ९१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले ६७ हजार ६६४ वटा बीमालेखमार्फत १८ करोड ८७ लाख ६२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।


