काठमाडौं । चीनको तिब्बतबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा मंगलबार आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको यथार्थ विवरण संकलन गर्न जिल्ला प्रशासन कार्यालय रसुवाले एक उच्चस्तरीय समिति गठन गरेको छ।
बुधबार प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति तथा विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका प्रमुख इन्जिनियर खड्गलाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।
समितिलाई बाढी प्रभावित क्षेत्रका भौतिक संरचनामा परेको क्षतिको प्रारम्भिक विवरण संकलन गरी यथासम्भव छिटो प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। समितिमा भन्सार कार्यालय, जलविद्युत् आयोजना, स्थानीय तह, सडक आयोजना, सुरक्षा निकाय तथा निजी क्षेत्रका प्रतिनिधिहरू सदस्य रहेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारी समितिको सदस्य–सचिवको भूमिकामा रहनेछन्। बैठकले समितिलाई आवश्यक सम्पर्क, समन्वय तथा सहजीकरणका लागि जिल्ला सुरक्षा समितिले पूर्ण सहयोग गर्ने निर्णयसमेत गरेको छ।
समितिबाट संकलित विवरणले उद्धार, राहत तथा पुनःनिर्माणका कार्यहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


