काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत बैंक दर, निक्षेप संकलन दर र नीतिगत दर घटाएको छ । ब्याजदर करिडोरको अथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत र तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत निर्धारण गरेको छ ।
यसैगरी, नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ । यससँगै, अब ब्याजदर थप सस्तो हुने देखिएको छ । राष्ट्र बैंकले १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य लिएको छ । निक्षेप संकलन दर घटेसँगै केन्द्रिय बैंकमा पैसा राख्न बैंकहरुलाई कम प्रोत्साहन मिल्ने र बैंकहरुलाई व्यक्ति वा व्यवसायहरुलाई ऋण विस्तार गर्नुपर्ने देखिन्छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर डा.विश्व पौडेलले उक्त कुरा बताएका हुन् ।

