काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सकिएको छ । मेयर बालेन साहको अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको हो ।
बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दैछ । उपमेयर सुनिता डंगोल र केही प्रतिनिधि वडाध्यक्षहरूसहितको बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउने गरी सीमा निर्धारण गरेको हो ।
बैठकले आर्थिक तर्फ ३ प्रतिशत, पूर्वाधारतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत, सुसासन तथा अन्तरसम्बन्धतर्फ १२ प्रतिशत र कार्यसञ्चालन तथा प्रशासनतर्फ १४ प्रतिशत हुने गरी सीमा निर्धारण गरेको हो ।
साहले बैठकमा जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएको महानगरले जनाएको छ । चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णयसमेत गरेको छ ।
आजै बस्ने ४० औं नगरकार्यपालिका बैठकले नगर सभाको मिति तय गर्नेछ ।
नगर सभामा मेयरले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । उपमेयर डंगोलले बजेट पेश गर्ने छिन् ।
बैठकमा राजश्व परामर्श समितिका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागीय प्रमुखहरूको उपस्थिति थियो ।

