काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा तथा थमौतीका साथै भूमि आयोगको सदस्य बनाइदिने भन्दै घुस लेनदेन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मंगलबार दर्ता नम्बर सी–०७८५५५ बाट अख्तियारमा परेको उजुरीमा सामान्य प्रशासनमन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीमा हाल कार्यरत चिरञ्जीवी पौडेल जानुभन्दा अगाडिका कार्यालय प्रमुखको थमौतीका लागि एक व्यापारीसँग ५३ लाख घुस डिल गरेको विवरणहरू सार्वजनिक भएका छन्।
मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा रोक्न ५३ लाख रुपैयाँ घुस:
मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्नका लागि ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ। यस सम्बन्धमा घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको दाबी गरिएको छ । उजुरीकर्ताले ‘संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कास्की जिल्लास्थित तत्कालीन मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई थमौती गरिदिन्छु भनी घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ लिएको पैसाको नम्बर र नोटको तस्बिर यसैसाथ संलग्न छ’ भनी उल्लेख गरेको समाचारमा जनाइएको छ ।
भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि २५ लाख रुपैयाँ घुसको डिल:
मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख रुपैयाँ घुसको ‘डिल’ गरेको छुट्टै अडिओ पनि सार्वजनिक भएको छ। १० मिनेट लामो अडिओ संवादमा मन्त्री गुप्ता एक महिलासहित बिचौलियासँग आर्थिक लेनदेनको कुरा गरिरहेको सुनिन्छ । यसमा उनले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई समेत पोलेको उल्लेख छ। एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्नका लागि बिचौलियाले २५ लाख घुसको प्रस्ताव गरेको दाबी छ। अडिओमा १५ लाख तत्काल र भोलिपल्ट थप १० लाख दिने कुरा भएको सुनिन्छ । यो प्रकरण गत वर्ष पुस २८ गते भएको अनुमान गरिएको छ। यसको भोलिपल्ट, पुस २९ गते भूमि व्यवस्था मन्त्रालयले ७० जिल्लामा आयोग अध्यक्ष नियुक्त गरेको थियो ।

