जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँको आधारमा ६५ प्रतिशतका दरले हुन आउने २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असार ८ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार ५ गते बिहीबारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । योग्य शेयरधनीहरुले भदौ ४ गतेसम्म हकप्रद शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै कम्पनीको कार्यालय र लक्ष्मी सनराइज बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयर अनलाईनबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

६५ प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ कायम हुनेछ । हकप्रदबाट संकलित रकम कम्पनीले विभिन्न बैंकबाट लिएको कर्जा भुक्तानीका लागि प्रयोग गर्ने बताएको छ ।

कम्पनीले जेठ २६ गते हाल कायम चुक्तापूँजीका आधारमा १ बराबर शून्य दशमलव ६५ को अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले २०८० साल मंसिर २० गते हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँको आधारमा ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार